ताप्लीको २ घरमा आगलागी, लाखौँको क्षति 

२0७९ चैत्र २९ बुधबार
ताप्लीको २ घरमा आगलागी, लाखौँको क्षति 

उदयपुर, चैत २९

उदयपुरको ताप्ली गाउँपालिकामा आगाली हुँदा २ स्थानीयको घरसहित चौपाया र धनमाल नष्ट भएको छ । बुधबार साँझ ७ः३० बजे लागेको आगोले ताप्ली ५ रुपाटार शाहीडाँडाका कलमबहादुर राई र शुभशेर राईको घर, मतान र गोठसहित जल्दा धनमाल र चौपायासमेत नष्ट भएको हो । 


गाउँपालिका अध्यक्ष ढुंगराज बिकले आगलागीबाट कमलबहादुरको घर, मतान र गोठ जल्दा अन्न्पात, लत्ताकपडा, भाँडाबर्तन र कागजातसहित गाईभैंसी जलेर मरेका छन् । उनकै सहोदर दाजु शुभशेरको भने गोठ र मतान मात्र जलेको छ, घर भने गाउँलेहरु बेलैमा भेला भएकाले जल्नबाट बँचेको छ । 


अध्यक्ष बिकका अनुसार गाउँपालिका कार्यालय नजिकै रहेकाले जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, प्रहरी र स्थानीय भेला भएर लाग्दा उनको घर जल्नबाट जोगिएको हो । आगो निभाउन अध्यक्ष बिक, उपाध्यक्ष धना मगर, प्रमुख प्रशासकीय अधिकृत भक्त चामलिङ, वडाध्यष्क्षहरु कार्यपालिका सदस्य तथा कर्मचारी, स्वास्थ्यकर्मी र रुपाटार चौकीका प्रहरीसहित गाउँले भेला भएका थिए । 


आगो लागेको देख्नेबित्तिकै भेला भएर निभाउन सहयोग गर्दा एउटा घर भने बँचाउन सफल भएको अध्यक्ष बिकले बताए । ५ नं. वडाध्यक्ष विष्णु श्रेष्ठले गाउँपालिका अध्यक्ष, उपाध्यक्षलगायत जनप्रतिनिधि, हाकिमलगायत कर्मचारी र प्रहरी तथा गाउँले बेलैमा भेला भएर सहयोग गर्नाले आगो लागेको डेढघण्टा ९ः०० बजेभित्र आगो पूर्णरुपमा नियन्त्रणमा आएको बताए । 


आगोले कमलको १५ लाखभन्दा बढी र शुभशेरको ८ लाख हाराहारी क्षति गरेको हुनसक्ने अध्यक्ष बिकले बताएका छन् । घर जलेपछि कमलको एक छोरा र श्रीमतिसहति ३ जनाको परिवार र शुभशेरको श्रीमति र छोराछोरीसहित ८ जनाको परिवार खुल्ला आकाशमुनि बस्न बाध्य भएका छन् । अध्यक्ष बिकले पीडित दुवै परिवारलाई आजलाई छिमेकीको घरमा बस्ने व्यवस्था मिलाइएको छ भने  बिहीबारदेखि सुरक्षित ठाउँमा बस्ने व्यवस्थ र राहत उपलब्ध गराइने छ ।