'कोसी प्रदेश' खारेज गर्ने निर्णय गर्दै प्रेस सेन्टरको साधारणसभा सम्पन्न

२0७९ चैत्र २७ सोमबार
'कोसी प्रदेश' खारेज गर्ने निर्णय गर्दै प्रेस सेन्टरको साधारणसभा सम्पन्न

नेकपा (माओवादी केन्द्र) निकट पत्रकारहरुको छाता संगठन प्रेस सेन्टर नेपालको प्रथम साधारणसभाले प्रदेश १ कोे पहिचान कोशीमा बगाइएकोमा घोर आपत्ती जनाउँदै संशोधन गर्न सुझाएको छ । खोटाङ र भोजपुरको सीमानाकामा पर्ने भोजपुर टेम्के पैयुङ गाउँपालिका ४ चखेवा भन्ज्याङमा शनिबार र आईतबार सम्पन्न साधारणसभाले प्रदेशको नाम तत्काल संशोधन गरेर पहिचानको आधारमा पुनः नामाकरण गर्न प्रदेश सरकारसमक्ष मागसमेत गरेको छ । 


सरकारले प्रमुख गन्तव्यको सूचीमा पारेको पर्यटकीयस्थल मुन्दुम मार्ग (ट्रेल) सुरु हुने ठाउँ चखेवा भञ्ज्याङमा आयोजित साधारणसभाले पहिचानविरोधी नाम राखेकामा उर्लेको आन्दोलनकारी शक्तिहरुसँग तत्काल वार्ता गरी पहिचानको आधारमा पुनः नाम राख्न पनि सरकारसमक्ष जोडदार माग गरेको हो ।


साधारणसभाले जारी गरेको १५ बुँदे ‘चखेवा घोषणापत्र’ मा श्रमजीमी पत्रकार ऐन तत्काल कार्यान्वय गर्न, सञ्चारविरोधी ऐन खारेज गर्न, स्थानीय विज्ञापनहरु स्थानीय पत्रपत्रिका र सञ्चार माध्यमहरुलाई अनिवार्य उपलब्ध गराउन, लोककल्याणकारी विज्ञापनको शुल्क समयानुसार बढाउन, द्वन्द्वपीडित, अशक्त र अपाङ्ग पत्रकार र उनीहरुको परिवारलाई निशूल्क उपचार र रोजगारी तथा राहत तथा क्षमता अभिवृद्धिमा विशेष प्राथमिकता दिन पनि प्रदेश सरकारसँग माग गरेको छ । 


प्रदेशभित्र सञ्चालनमा रहेका स्वरोजगारमुखी सञ्चारमाध्यमहरुलाई आत्मनिर्भर बनाउन, प्रदेश र स्थानीयतहतहमा पत्रकार सुरक्षा कोष स्थापना गर्न, पर्यटकीयस्थल चखेवा भञ्ज्याङको दीगो पर्यटन प्रवद्र्धनको योजनासहित बजेट विनियोजन गर्न पनि साधारणसभाले माग गरेको छ । 


प्रदेश कमिटी अध्यक्ष विनोद घिमिरेको अध्यक्षतामा सम्पन्न सभाका  प्रमुख अतिथी प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष विष्णु सापकोटा ‘जुगल’ले नेकपा माओबादीले पहिचानको विषय सरुदेखि उठाउदै आएको र आगामी दिनमा पनि पहिचानकै पक्षमा रहने प्रतिबद्धता जनाए । उनले प्रेस सेन्टरको तालुक पार्टी नेकपा (माओवादी केन्द्र) पहिचानकै मुद्धाले अघि बढेको भन्दै अहिले पनि पहिचानको मुद्दा नछाडेको स्मरण गराए । 


अध्यक्ष सापकोटाले पार्टीले पहिचानको मुद्धा छाडेको भन्ने कुरामा कोही पनि भ्रममा नपर्न आग्रह गर्र्दै विचार र सिद्धान्तको हिसाबले प्रेस सेन्टर नेपाल पत्रकार सगठनहरुमध्ये देशकै ठूलो र उर्जासिल सङ्गठन भएको बताए । उनले देशमा पहिचानको विषय प्रेस सेन्टर नेपालले मात्र स्थापित गराउन सक्ने भन्दै १ नं. प्रदेशबासी सबै अडिग भएर पहिचानको पक्षमा कलम चलाउन आग्रह गरे । माओबादी पहिचान बिराधी पार्टी हो भन्ने भ्रम त्यागेर सबैजना एकजुट भएर कलम चलाएमा पहिचानसहितको नामाकरण हुन सम्भव भएको उनको भनाई थियो । 


माओवादी प्रदेश १ का अध्यक्ष हर्कबहादुर नेम्वाङ ‘मिक्सो’ले पत्रकारहरुले सही सूचना दिएर समाज परिवर्तनमा भूमिका खेल्नुपर्नेमा जोड दिए । प्रदेशको नामाकरण विषयमा माओबादीले पहिले जे अडान राखेको थियो, अहिले पनि कायम रहेको भन्दै अध्यक्ष मिक्सोले भर्खर राखेको नामप्रति असन्तुष्टि देखिएकोप्रति पार्टी गम्भीर भएर समीक्षा गर्दै अघि बढ्ने आश्वासन दिए । 


अध्यक्ष मिक्सोले पत्रकारहरुले सही सूचना दिँदै समाज परिवर्तनको भूमिका निर्वाह गर्दै जान आग्रह गर्दै प्रदेशको नाम पहिचानको आधारमा पुनः नामाकरण हुने विश्वास दिलाए । 


कार्यक्रममा प्रेस सेन्टर नेपालका सल्लाहकार तथा प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष भवानी बरालले पहिचान भनेको मनोविज्ञानसँग जोडिएको विषय भएकाले धेरै संवेदनसिल भए पनि प्रदेश सरकारले सामान्य रुपमा बुझेकाले गम्भीर समस्या उत्पन्न भएको बताए । १ नं. प्रदेश किरात र लिम्बुवानको बाक्लो बस्ती भउको तथा भूगोल, सभ्यता र इतिहासको आधारमा पनि पहिचानसहितको नाम किरात लिम्बुवान नछुटाई राख्नुपर्नेमा हचुवाको भरमा नामाकरण गर्नाले अनिश्चितकालीन अशान्ति सुरु भएकोमा बराल चिन्तित थिए । 


भारतमा अंगे्रजहरुको पालाका बम्बई, कलकत्ता अहिले मुम्बई र कोलकाता भएको उदाहरण दिदै विश्वका धेरै देशमा पहिचान स्वीकारे पनि नेपालमा किरात लिम्बुवान स्वीकार्न नसक्नु दुःखद भएको बरालको टिप्पणी थियो । पत्रकार बरालले पहिचानसहितको नामाकरण नभए प्रदेशमा अनन्तकालसम्म द्वन्द्व मच्चिरहने खतरा रहेको भन्दै प्रदेश मुख्यमन्त्री र सांसदहरुलाई त्यसप्रति गम्भीर भएर सोँँच्न आग्रह गरे । 


माओवादीका प्रदेश सचिवालय सदस्य राजेश खतिवडाले पहिचानलाई आधार मानेर १० वर्षे सशस्त्र जनयुद्धमा सफलता प्राप्त गरेको माओबादी पहिचान छाड्दै गएका कारण पछिल्ला चुनावहरुमा झन्झन् चाउसिदै गएको बताए । प्रेस सेन्टर नेपाल मोरङका अध्यक्ष अर्जुन आचार्य र सुनसरीका अध्यक्ष तीर्थ कार्कीले पहिचानको मुद्धा उठाएर सफल भएको माओबादीले आफ्नो धरातल बिर्सेर पहिचाबिरोधी नाम राख्दा मत दिएकोमा भत्र्सना गरे । उनीहरुले हिजोको धरातल यसरी नै बिर्सदै जाने हो भने एमाले, काँग्रेस र साप्रपाभन्दा माओबादी फरक नहुने भन्दै बेलैमा सच्चिएर अघि बढ्न पार्टी नेतृत्वलाई सुझाए । 


कार्यक्रममा उपाध्यक्ष तथा नेपाल पत्रकार महासङ्घका प्रदेश महासचिव विवेक गौतम, अर्का उपाध्यक्षहरु निर्मल ज्ञवाली र गङ्गा बराल, महासंघका सचिव विमल लामिछाने तथा स्मीता निरौला, केन्द्रीय सदस्य तथा नीति परामर्श समिति सदस्यहरु महेश्वर चामलिङ, डम्बरसिंह राई, प्रयास लिम्बुलगायतले पनि पहिचानको मुद्धा छाडेर अघि बढ्दा पार्टी चाउसिदै गएकोमा चिन्ता व्यक्त गर्दै समयमै समीक्षा गरेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए । 


साधारणसभामा प्रेस सेन्टर नेपाल सुनसरी शाखालाई उत्कृष्ट घोषणा गर्दै प्रसंसापत्र प्रदान गरिएको थियो भने खोटाङलाई दोस्रो र पाँचथर शाखालाई तेस्रो राम्रो काम गरेकोमा प्रदेश समितिले सम्मान गरेको थियो । त्यसैगरी कार्यक्रममा प्रेस सेन्टरका पहिलो अध्यक्ष राजन केडी र पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्य तथा प्रेस सेन्टरका नीति तथा परामर्श समितिका गणेश लम्साललाई पनि सम्मान गरियो । 


साधारणसभामा प्रदेश महासचिव सुजन तिम्सिनाले प्रस्तुत गरेको साङ्गठानिक प्रतिवेदन संशोधनसहित पारित गरिएको प्रदेश उपाध्यक्ष राजन समिप राईले बताए ।