ट्रकको ठक्करबाट मोटरसाईकल चालकको निधन

२0७९ चैत्र २६ आईतवार
ट्रकको ठक्करबाट मोटरसाईकल चालकको निधन

उदयपुर, चैत २६

आईतबार विहान मालबाहक ट्रकको ठक्करबाट गाईघाटमा मोटरसाईकल चालकका निधन भएको छ । त्रियुगा नगरपालिका ११ हिमाली टोलबाट आउँदै गरेको मोटरसाईकललाई मदन भण्डारी लोकमार्गमा ट्रकले ठक्कर दिदा घट्नास्थलमै ज्यान गएको हो । 


काठमाडौंदेखि झापातर्फ जाँदै गरेको मे १ ख २१८४ नं. को ट्रकको ठक्करबाट प्र. १–०५–००१ प ६१५९ नं. को मोटरसाईकल चालक त्रियुगा नगरपालिका १४ साउनेका ४३ वर्षीय तारणी मगरको ज्यान गएको हो । उदयपुर प्रहरीका अनुसार विहान ५ः५५ बजेको समयमा ट्रकले ठक्कर दिदा उछिटिएर सडकमा लड्न पुगेका मगरलाई किचेर बिभत्स तरिकाले ज्यान गएको छ । 


दुर्घट्नामा संलग्न ट्रक र चालक झापा कन्काई नगरपालिका ६ का २२ वर्षीय भुपेन्द्र राजवंशीलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखिएको छ भने मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गाईघाट लगिएको छ । घट्नाबारे अनुसन्धान भईरहेको प्रहरी प्रवक्ता इन्सपेक्टर मोहन थापाले बताए । 

स्थानीयद्वारा बजार र यातायात बन्द

यसैबीच ट्रकको लापरबाहीका कारण मगरको ज्यान लिएको भन्दै स्थानीयले गाईघाट बजार बन्द गराँएका छन् । बजार क्षेत्रमा तिब्रगतिमा सवारी चलाउदा अनाहकमा ज्यान गएको तथा मृतकको लास जनप्रतिनिधि र आफन्तजनलाई जानकारी नदिइ प्रहरी प्रशासनले उठाएको भन्दै बजार बन्द गराएका छन् । 


स्वतःस्फुर्त रुपमा निस्केको बजारबासीले साना ठूला यातायात चल्न रोक लगाएका कारण पौने ११ः०० बजेदेखि बजार पसल सबै ठप्प भएका छन् । आन्दोलनकारीले घट्नास्थल, मुख्य चोक, पिजी चोकलगायत ठाउँठाउँमा टायर बालेर यातायात अवरोध गराएका छन् । 


आन्दोलनकारीहरुले ठक्करले घाईते भएका मगरलाई उपचार गर्न लानु पर्नेमा थप किचेर मारेको आरोप लगाएका छन् । लोकमार्गमा तिब्रगतिमा रहेको ट्रकले शाखा सडकबाट आएको मोटरसाईकललाई ठक्कर दिदा उछिटिएर घाईते भएका मगरको तत्काल उपचार  गर्न लान पाए बचाउन सकिने संभावना भएकोमा उल्टै किचेर निर्ममतापूर्वक हत्या गरेको आरोप स्थानीयको छ । 


जिल्ला बाहिर रहेका त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटका अध्यक्ष रमेश रसाईलीले  प्रहरी प्रशासनले दुर्घट्नाबारे मृतकका आफन्त र स्थानीय जनप्रतिनिधि कसैलाई जानकारी नदिइ घट्नास्थलबाट लास उठाएकाले यातायात व्यवसायी र मृतकका आफन्तजनले बजार बन्द गराएको जानकारी आएको बताए । घट्ना र बन्दबारे आफन्त, जनप्रतिनिधि र प्रहरी प्रशासनसँग छलफल गराएर निकास निकाल्न संघले पहल गर्ने पनि अध्यक्ष रसाईलीले बताए । 


जिल्ला प्रहरी प्रमुख एसपी ज्ञानेन्द्र फुयालले तिब्रगतिमा आएको ट्रक र मोटरसाईकल एकापसमा ठोक्किदा मगरको ज्यान गएको बताए । लोकमार्गमा गाडीहरु तिब्रगतिमै चल्ने र शाखा सडकबाट आएका मगरले ठम्याउन नसक्दा अप्रिय दुर्घटना हुन गएको भन्दै उनले जानीजानी ठक्कर दिएको भन्ने आरोप गलत भएको बताए । 


दुर्घटनामा परी ज्यान गुमाएका व्यक्तिको लास पोष्टमार्टम गरेपछि मात्र आफन्तलाई बुझाउने कानुन अनुसार अस्पताल लगिएको उनको भनाई छ । घट्नाको वास्थविक्ता पत्ता लगाउन क्लोज सर्किट क्यामेरा (सिसिटिभि)का फुटेज आफन्तलाई देखाउने काम भईरहेको पनि एसपी फुयालले बताए ।