शिवाईमा थारुहरुको जमघट हुँदै

२0७९ चैत्र २२ बुधबार
शिवाईमा थारुहरुको जमघट हुँदै

उदयपुर, चैत २२

आउदो शुक्रबारदेखि उदयपुरका थारुहरु उदयपुरको शिवाईमा भेला हुने भएका छन् । थारु कल्याणकारीणीसभाको नवौँ अधिवेशनको अवसर पारेर चौदण्डीगढी नगरपालिका ५ को शिवाईमा यो समुदायको जमघट हुन लागेको हो । 


अधिवेशन मूल आयोजक समितिले बुधबार दिउँसो गाईघाटमा पत्रकार सम्मेलनको आयोजना गरी यसबारे जानकारी दिएको हो । स्थानीय फुडल्याण्ड होटलको सभाकक्षमा आयोजित पत्रकार सम्मेलनमा २४ र २५ गते दुईदिन सञ्चालन हुने अधिवशेनको सम्पूर्ण तयारी पुरा भएको सभाका सभापति शिवकान्त चौधरीले जानकारी दिए । 


शुक्रबार हुने उद्घाटन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले गर्ने कार्यक्रम तय भएको पनि चौधरीले बताए । उनका अनुसार शुक्रबार औपचारिक कार्यक्रम हुने अधिवेशनको बन्दसत्र शनिबार हुने छ । अधिवेशनमा सभाले पौराणिक र आधुनिक तथा बस्तुवादी परम्परा, संस्कार, संस्कृति र पहिचानको उजागर गर्ने खालका कार्यक्रमहरु प्रस्तुत गर्नेछ ।


‘थारु भाषा, कला, संस्कृति आपन सबके पहिचान, समावेशी अधिकारके लेल थारुके अभियान’ भन्ने नाराका साथ हुन गईरहेको अधिवेशनमा थारु विद्यार्थी, थारु युवा, थारु महिला, थारु पत्रकारलगायत घटक संगठनहरुको पनि गठन र पुनर्गठन हुने सभापति चौधरीले बताए । त्यसैगरी सभाको स्थापनादेखि हालसम्म भए गरेका सांगठनिक, आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक गतिबिधि समेटिएको प्रगति प्रतिबेदन प्रस्तुत गरिने छ । अधिवशेनले बन्दसत्रमार्फत आगामी २ वर्षका लागि नयाँ कार्यसमितिसमेत चयन गर्नेछ । 


कार्यक्रममा स्थापनाकालदेखि कल्याणकारीणीमा रहेर थारु समुदाय र समाजको हक हितमा लागेर योगदान गर्नेहरुको उच्च मूल्याङ्कन गर्दै सम्मान गर्ने कार्यक्रम पनि रहेको सभाकी कोषाध्यक्ष पशुपति चौधरीले बताईन् । अधिवेशन आयोजक समितिका आर्थिक संयोजक राकेश चौधरीका अनुसार जिल्लामा थारु बहुल स्थानीयतहहरु त्रियुगा, बेलका र चौदण्डीगढी नगरपालिकाका १ सय ४ जना प्रतिनिधि तथा पर्यवेक्षकले अधिवेशनमा सहभागिता जनाउनेछन् । 


नेपालको तराईक्षेत्रमा बसोबास गर्ने थारु जातिलाई मलेरिया (औलो) जस्तो प्राणघातक रोग पचिसकेको तथा बाघ, भालु, हात्तीजस्ता हिंसक जंगली जनावर र गोही, सर्प विच्छीजस्ता जलचर जनावसमेत पराजित गर्दै घना जंगल फडानी र नदीनाला आवाद गर्ने वीर मानव समुदाय मानिदै आएको छ ।