खोटाङ कारागारका ७१ कैदीबन्दीको आँखा जाँच

२0७९ चैत्र १९ आईतवार
खोटाङ कारागारका ७१ कैदीबन्दीको आँखा जाँच

उदयपुर, चैत १९

नेपाच पत्रकार महासंघको ६८ औँ स्थापना दिवसको अवसर पारेर खोटाङका ६ दर्जन कैदीबन्दीको निशूल्क आँखा जाँच भएको छ । स्थापना दिवस तथा नेपाल नेत्र ज्योति संघको ४५ औँ स्थापना दिवशको अवसर पारेर महासंघ खोटाङ शाखाको आयोजनामा सम्पन्न  निशूल्क आँखा शिविरमा बिभिन्न अपराधको सजाय भोग्दै गरेका कैदीबन्दीले आँखा जँचाउने अवसर पाएका हुन् । 


जिल्ला कारागार शाखा खोटाङमै गएर सञ्चालन गरिएको शिविरमा ७१ जना कैंदी बन्दीले आँखा जाँच गराएको महासंघ शाखा खोटाङका अध्यक्ष दिलिप खत्रीले बताए । उनका अनुसार नेत्र ज्योति संघ र पत्रकार महासंघको स्थापना दिवसलाई नयाँ तरिकाले मनाउने उदेश्यले कारागारमा सजायरत कैंदीबन्दीको आँखा जाँजसँगै निःशुल्क औषधि र चश्मासमेत वितरण गरिएको हो । 


कारागारमा रहेका कैदी बन्दीमध्ये ६७ जना पुरुष र ४ जना महिलाको आँखा जाँच गर्दै निःशूल्क औषधि तथा चश्मा वितरण गरिएको हो । शिविरमा आँखाको जटिल समस्या भएका ३५ जनालाई निःशूल्क चश्मा पनि वितरण गरिएको छ भने ४५ जनालाई औषधि वितरण गरिएको छ । आँखामा जटिल समस्या भएकाहरुलाई संघ र महासंघको पहलमा निःशूल्क चश्मा दिइएको नेपाल नेत्र ज्योति संघ खोटाङका अध्यक्ष इन्द्र कसजुले बताए ।


शिविरमा आँखा जाँच गर्नेमध्ये १ जना कैदीलाई भने मोतियाविन्दु भएको पाइएकाले शल्यक्रिया (अप्रेसन) गर्न चिकित्सकले सुझाएका छन् । संघका अध्यक्ष कसजुका अनुसार उनको आँखाको अप्रेसनका लागि छिट्टै सुविधा सम्पन्न अस्पताल पठाउने तयारी भईरहेको छ । गृह मन्त्रालय, कारागार विभाग र जिल्ला प्रशासन कार्यालय र कारागार शाखाको अनुमति लिएर उनको आँखा अप्रेसन गर्न लाने व्यवस्था मिलाइने कसजुले बताए । 


महासंघको समन्वय, नेत्र ज्योति संघ, हङकङ च्याप्टरको सहयोग एवं आँखा उपचार केन्द्र दिक्तेलको प्राविधिक सहयोगमा शिविर सञ्चालन गएिको नेत्र ज्योति संघ खोटाङले जनाएको छ । आँखा चिलाउने, रातो हुने तथा धमिलो देखिनेलगायत समस्या भएको पाइएपछि कैदीबन्दीको आँखा जाँचका लागि शिविर राखिएको अध्यक्ष खत्रीले बताएका छन् ।