रौतामाईमा १५ दिनभित्र अर्को आगलागी, साढे ६ लाख ध्वस्त

२0७९ चैत्र १२ आईतवार
रौतामाईमा १५ दिनभित्र अर्को आगलागी, साढे ६ लाख ध्वस्त

उदयपुर, चैत १२


उदयपुरको रौतामाईमा आगलागीबाट साढे ६ लाख बराबरको धनमाल ध्वस्त भएको छ । आईतबार दिउँसो लागेको आगोले रौतामाई गाउँपालिका २ थाम्बु तेप्चेडाँडाका गोपाल बिकको घर जल्दा सो परिमाणको धनमाल नष्ट भएको हो । 


प्रहरीका अनुसार आगोले बिकको ढुंगामाटोले बनेको खरको छानो भएको २ तले घर, घरभित्र रहेको अन्नपात, लत्ता कपडा, भाँडाबर्तन, ७ वटा कुखुरा र अन्य चल सम्पत्ति जलेर नष्ट भएको छ । बिककै नाति ६ वर्षीय अम्मरले लाईटर खेलाउने क्रममा अचानक घरमा आगलागी हुन गएको प्रहरीले जनाएको छ । 


जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी राकेश पोदारका अनुसार आगलागीबाट ६ लाख ३८ हजार बराबरको धनमाल जलेर क्षति पुगेको छ । आगो प्रहरी र स्थानीयबासीको प्रयासमा दिउसो ३ः३० बजेसम्ममा नियन्त्रणमा आएको पनि डिएसपी पोदारले बताएका छन् । 


गत फागुन २६ गते मात्र रौतामाईका छुट्टाछुट्टै २ ठाँउमा आगलागी हुँदा २ बालबालिकाको ज्यान गएको थियो । रौतामाई ८ को पाँबु पाखाटोलका रामबहादुर बुर्जा मगरको घरमा आगो लाग्दा उनका २ वर्षीय छोरा रोजन र ६ वर्षीया छोरी जश्मिनको ज्यान जानुका साथै घर र घरभित्र रहेका सम्पूर्ण धनमाल नष्ट भएका थिए । आगोले मगरको घर र छोराछोरीसहित १० लाख बराबरको धनमाल नष्ट गरेको थियो ।


सोही दिन ५ नं. वडाको डु्ँडेस्थित मानबहादुर कटुवालको रौता लाकुरी कृषि तथा पशुपालन फाराममा लागेको आगाले १ सय १० वटा खसी बाख्रा जलेर नष्ट पारेको थियो ।