कोसी प्रदेश खारेजीको माग गर्दै प्रदेश १ का १४ वटै जिल्लामा चक्का जाम

२0७९ चैत्र ११ शनिबार
कोसी प्रदेश खारेजीको माग गर्दै प्रदेश १ का १४ वटै जिल्लामा चक्का जाम

उदयपुर, चैत ११

कोसी प्रदेश खारेजीको माग गर्दै भएको आन्दोलनको क्रममा प्रहरी आक्रमणमा परी जीवन उत्सर्ग गर्ने पदम लिम्बु (लाजेहाङ)को मृत्युपछि आक्रोसित भएका पहिचानपक्षधरको आव्हानमा प्रदेश १ का १४ वटै जिल्लामा बिरोध प्रदर्शन सुरु भएको छ । 


प्रदेश १ को पूनः नामाङकन संयुक्त संघर्ष समितिको आव्हानमा भएको चक्का जाम कार्यक्रम अन्तर्गतथ उदयपुरमा पनि दिउसो १ः०० देखि २ः०० बजेसम्म गाईघाटमा चक्का जाम भयो । संघर्ष समिति उदयपुरको आव्हानमा मदन भण्डारी लोकमार्ग, गाईघाट दिक्तेल सगरमाथा लोकमार्ग र गाईघाट लाहान सडकलगायत जिल्लाका बजार र भित्रि सडकहरु सबै १ घण्टा ठप्प भएका थिए । 


१ नं. प्रदेशको नाम पहिचानविरोधी राखेको भन्दै आन्दोलित भएका पहिचानपक्षधरहरुको गत ५ गते बिराटनगरमा भएको बिरोध प्रदर्शनमा प्रहरी आक्रमणमा परेका लाजेहाङको अघिल्लो राति उपचारको क्रममा बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा निधन भएको थियो । उनको निधनपछि आक्रामक आन्दोलनको सुरुवात गर्ने घोषणा गरेको संघर्ष समितिले १४ वटै जिल्लामा शान्तिपूर्ण बन्द घोषणा गरेको हो । 

 


प्रदेश १ सँगै राजधानी काठमाडांैमा पनि बन्द र बिरोध प्रदर्शन भएको छ । आन्दोलनको क्रममा पहिचानपक्षधरहरुले मृतक लाजेहाङलाई सहिद घोषणा गर्नुपर्ने, कोशी प्रदेश नाम खारेज गरी किरात लिम्बुवान शेर्पालुङ घोषणा गर्नुपर्ने, मृतक परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्नेलगायत माग अघि सारेको छ ।