देउरी वडाध्यक्ष कप फ्युजनलाई 

२0७९ चैत्र ९ बिहीबार
देउरी वडाध्यक्ष कप फ्युजनलाई 

देउरी, चैत ९

त्रियुगा नगरपालिका ५ देउरीको आयोजनामा भएको ‘वडाध्यक्ष कप फुटबल प्रतियोगिता ०७९’को उपाधि फ्युजन क्लब बोक्सेले जितेको छ । बिहीबार भएको फाईनल खेलमा १० वडा बोक्सेको फ्युजनले ८ नं. राजाबासीलाई २–१ गोलले  पराजित गर्दै उपाधि हात पारेको हो ।


देउरीस्थित बालुवाटार खेलमैदानमा भएको फाईनलमा खेल सुरु भएको २४ औँ मिनटमा राजाबासका खेलाडी डेबिट चौधरीले पहिलो गोल गरेर आफ्नो समूहलाई अघि बढाएका थिए । तर, मध्यान्तरपछि लगातार २ गोल गर्दै फुयुजन उपाधिको हकदार भएको हो । 


मध्यान्तरपछिको ४६ औं मिनटमा फ्युजनका खेलाडी सञ्जय भुजेलले जवाफी गोल गर्दै खेललाई बराबरी बनाए । त्यसको ४ मिनटपछि नै अर्का खेलाडी अनमोल राईको प्रहार गोलमा परिणत भएसँगै फ्युजन दोब्बर गोलले विजयी भएको हो ।  


विजेता फ्युनले कप, नगद ४० हजार, सिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ भने उपविजेतालाई २० हजार नगदका साथ सिल्ड मेडल र प्रमाणपत्र प्रदान गरियो छ । समापन समारोहमा त्रियुगा नगर उपप्रमुख महेश्वरी राई र वडाध्यक्ष उद्धवसिंह थापाले विजेता तथा उपविजेता खेलाडीहलाई पुरसकार, कप तथा प्रमाणपत्र प्रदान गरे । 


वडा खेलकुद विकास समितिको प्रायोजनमा स्थानीय श्रीपुर फुटबल क्लबले आयोजना गरेको प्रतियोगिता क्लबले बिगतदेखि नै वर्षेनी आयोजना गर्दै आएको क्लबका अध्यक्ष विष्णु भुजेलले बताए । अध्यक्ष भुजेलका अनुसार यसवर्षको प्रतियोगितामा नगरपालिकाका बिभिन्न वडाका ८ खेल समूहले भागग लिएका थिए ।