त्रियुगामा क्रान्तिकारीको पहिलो किल्ला, बरुवा र नारदमा अखिल  

२0७९ चैत्र ६ सोमबार
त्रियुगामा क्रान्तिकारीको पहिलो किल्ला, बरुवा र नारदमा अखिल  

उदयपुर, चैत ६

सदरमुकामको त्रियुगा जनता बहुमुखी (त्रिजव) क्याम्पसमा नेकपा (माओबादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी)ले क्याम्पस स्थापनादेखिकै पहिलो पटक विजयी भएर इतिहास रचेको छ । आईतबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन चुनावमा क्रान्तिकारीले काँग्रेसनिकट नेवि संघ र एमालेनिकट अखिललाई पराजित गर्दै पहिलो पटक किल्ला गाड्न सफल भएको हो । 

 


क्रान्तिकारीबाट सभापतिमा सरोज कार्की र कोषाध्यक्षमा डोमा राईलगायत सदस्य जितेको छ । प्राविधिक व्यवस्थापनमा कमजोरी भएका कारण सचिवकी उम्मेदवार रञ्जना मगर भने झिनो मतले पराजित हुन पुगिन् । त्रिजव क्याम्पस स्थापनादेखि अहिलेसम्मको स्ववियु चुनावमा अखिल र नेविसंघले मात्र सभापति जित्दै आएका थिए । जसमा अधिकतर कार्यकाल अखिल र केही नेविसंघ जितेका थिए । 


२ हजार १ सय ३१ मतदाता रहेको क्याम्पसमा ४९.९२ पतिशत अर्थात १ हजार ६४ मत खसेको क्याम्पस स्ववियु चु्नाव संयोजन समितिले जनाएको छ । विहान ८ः०० देखि दिउसो ४ः०० बजेसम्म भएको मतदानको गणना आईतबार राति १०ः०० बजेदेखि सुरु भएको थियो । परिणाम भने सोमबार विहान मात्र सार्वजनिक भएको हो । 


स्ववियुमा नेविसंघ र एकीकृत समाजबादीको गठबन्धनबाट रनत पोखरेल नेतृत्वमा र एमाले अखिलबाट अभिशेक राई नेतृत्वको प्यानलल प्रतिस्पर्धामा थिए । क्रान्तिकारी प्यानलमा बिप्लब नेतृत्वको नेकपालगायत माओबादी धारका विद्यार्थी संगठनहरुको पनि सहकार्य थियो । 

 


उदयपुरका अरु २ क्याम्पसमा भने क्रान्तिकारी झिनो मतले पराजित भएर एमाले अखिलले बाजी मारेको छ । सदरमुकामकै बरुवा क्याम्पस र चौदण्डीगढी नगरपालिकास्थित नारद आदर्श शिक्षा क्याम्पसमा एमाले अखिलले जितेको हो । ५ सय ५२ मध्ये ३ सय २४ मत खसेको बरुवामा अखिलका शारद खड्का जितेका छन् । त्यस्तै २ सय ५ मतदातामध्ये १ सय ८१ मत खसेको नारद आदर्शमा केबल तामाङ सभापति जितेका हुन् । 


बरुवामा नेविसंघ र क्रान्तिकारीबाट अजित पराजुली र भेषमणि खड्का सभापतिका उम्मेदवार थिए । त्यस्तै नारदमा क्रान्तिकारीका ज्ञानदिल राई ३ मत कम ल्याउँदै शानदार पराजित भएका छन् भने काँग्रेस र जसपाको गठबन्धन उम्मेदवार नेविसंघका बिमन तामाङ सभापतिमा पराजित भएका छन् । सभापतिबाहेक बाँकी सबै पदमा भने नेविसंघ विजयी भएको छ ।