त्रियुगा जनता क्याम्पसमा ४९.९२ प्रतिशत मतदान, नारद आदर्शमा अखिल विजयी

२0७९ चैत्र ५ आईतवार
त्रियुगा जनता क्याम्पसमा ४९.९२ प्रतिशत मतदान,  नारद आदर्शमा अखिल विजयी

उदयपुर, चैत ५

आईतबार सम्पन्न उदयपुरको जेठो शिक्षण संस्था त्रियुगा जनता बहुमुखी क्याम्पस (त्रिजव) मोतिगडामा ४९ प्रतिशत मतदान भएको छ । विहान ८ः०० देखि दिउसो ४ः०० बजेसम्म सञ्चालिते मतदानमा २ हजार १ सय ३१ मतमध्ये १ हजार ६४ मत खसेको क्याम्पस स्ववियु चु्नाव संयोजन समितिले जनाएको छ । 

शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको र आईतबार रातिदेखि नै गणना सुरु हुने तयारी भईरहेको छ । छुटटाछुट्टै ४ समूह बनाएर गणना गर्ने तयारी भईरहेको  क्याम्पस प्रमुख डा. कैलाशकुमार राईले बताए । तर, राति ९ः०० बजेसम्म गणना सुरु भएको छैन । गणना गर्ने विषयमा छलफल भईरहेको छ ।


त्रिजवमा स्ववियुका लागि ३ वटा प्यानलबीच कडा प्रतिस्पर्धा भएको अनुमान गरिएको छ । नेविसंघ र एकीकृत समाजबादीबीचको गठबन्धन, एमाले अखिल तथा माओबादी र बिप्लब नेतृत्वको नेकपासँग आबद्ध क्रान्तिकारी धारका विद्यार्थी गठबन्धनबाट अखिल क्रान्तिकारीको प्यानलले प्रतिस्पर्धा गरेका छन् । 


काँग्रेस र एसको गठबन्धनमा रतन पोखरेल सभापतिका उम्मेदवार छन् भने एमाले अखिलबाट अभिशेक राई तथा क्रान्तिकारीबाट सरोज कार्की नेतृत्वको  प्यानलले चुनावी प्रतिस्पर्धा गरेका छन् । सचिव, कोषाध्यक्ष र केही सदस्यमा भने स्वतन्त्र उ्रम्मेदवारी पनि परिेको छ । स्ववियुमा ९ सदस्यीय प्रत्यक्ष तथा ४ सदस्य समानुपातिक गरी १३ सदस्यीय प्यानल र स्वतन्त्र गरी ४२ उम्मेदवारको प्रतिस्पर्धा रहेको छ । कडा प्रतिस्पर्धा भएकाले परिणाम कुन पक्षमा आउने अनुमान गर्न कठिन रहेको सहायक क्याम्पस प्रमुख टीकाप्रसाद पौडेलले बताए । 
 


उता उदयपुरकै चौदण्डीगढी नगरपालिकास्थित नारद आदर्श शिक्षा क्याम्पस बर्खेडाँडा बसाहाको स्ववियु सभापतिमा भने एमालेनिकट अनेरास्ववियु जितेको छ । आईतबार सम्पन्न स्ववियु निर्वाचनमा अखिलका उम्मेदवार केवल तामाङ प्रतिस्पर्धी अखिल क्रान्तिकारीका सभापतिभन्दा ३ मत बढी ल्याएर बाजी मार्न सफल भएका हुन् । 


तामाङ ६५ मतसहित सभापतिमा विजयी भएका छन् भने क्रान्तिकारीका सभापति उम्मेदवार ज्ञानदिप राई .६२ मत पाएर पराजित हुन पुगेका छन् । राईभन्दा ३ मत बढी ल्याएर सभापति जितेका तामाङका सहयात्रीहरु भने सबै नेविसंघ र जनता समाजबादी पार्टीनिकट विद्यार्थीहरु जित्न सफल भएका छन् । क्रान्तिकारीका राईले ६२ मत पाउँदा नेविसंघका सभापति उम्मेदवार बिमन तामाङलाई ५२ मत मात्र परेको पूर्व क्याम्पस प्रमुख ध्रुब राईले बताए । 


राईका अनु्सारस्ववियुमा उपाध्यक्ष, सचिव र कोषाध्यक्षलगायत प्रत्यक्षतर्फका सम्पूर्ण सदस्य भने नेपाली नेवि संघ र जनता समाजबादीको गठबन्धनका उम्मेदवार जितेका छन् । २ सय ५ मतदातामध्ये १ सय ८१ मत खसेको चुनावमा व्यक्तिगत छनौटका आधारमा मत खसेकाले प्यानल मत गठबन्धनमा परेको तर, सभापति भने एमाले अखिलको पोल्टामा पुग्न गएको विद्यार्थीहरुले जनाएका छन् ।


त्यसैगरी सदरमुकामकै अर्को बरुवा क्याम्पसको पनि गणना भईरहेको छ । राति ८ः०० बजेदेखि समानुपातिकतर्फ गणना सुरु भएको बरुवामा ५ सय ५२ मध्ये ३ सय २४ मत खसेको छ । बरुवामा पनि नेविसंघ र एकीकृत समाजबादीको गठबन्धनसहित एमाले र माओबादी अखिलसहित ३ प्यानलकै प्रतिस्पर्धा रहेको छ ।     


गठबन्धनबाट अजित पराजुली, अखिलबाट सारद खड्का र क्रान्तिकारीबाट भेषमणि खड्का सभापतिका उम्मेदवार रहेका छन् । राति १२ः०० बजेसम्ममा परिणाम सार्वजनिक भईसक्ने निर्वाचन समितिलाई उद्धृत गर्दै क्याम्पस प्रमुख भिम खड्काले बताए ।