सुख्खा याम सुरु भएसँगै जताततै डढेलो

२0७९ चैत्र १ बुधबार
सुख्खा याम सुरु भएसँगै जताततै डढेलो

उदयपुर, चैत १

सुख्खा याम सुरु भएसँगै डढेलो लाग्ने क्रम सुरु भएको छ । केहीदिनयता उदयपुरका बिभिन्न वन समूहमा डढेलो लाग्न थालेको पाइएको छ । 


जस अनुसार सदरमुकाम त्रियुगा नगरपालिका १० को बोक्सेबासीले भोगचलन गर्दै आएको बाबरी सामुदायिक वन उपभोक्ता समूह, बरुवा समूह, सरस्वति वन समूह देउरीमा डढेलो लागेको छ । बाबरी र बरुवा वन समूहमा लागेको डढेलो दिउसो नदेखिए पनि राति प्रष्ट देखिने गरेको गाईघाटका स्थानीयले बताएका छन् । 

 


बरुवा र बाबरीमा लागेको डढेलो गाउँभन्दा टाढा रहेकाले तत्काल मानव बस्ती जोखिममा नभए पनि समयमै नियन्त्रण नगरे जोखिम हुने स्थानीयको भनाई छ । समयमै डढेलो नियन्त्रण गरेर बस्ती जोखिमबाट बचाउन उनीहरुको आग्रह छ । 


त्यसैगरी त्रियुगा नगरपालिका. ५ देउरीस्थित सरस्वति सामुदायिक वनमा ३ दिनअघि लागेको डढेलो भने नियन्त्रणमा आईसकेको छ । डढेलो लागेको थाहा पाएलगत्तै सवडिभिजन वन कार्यालय देउरीका वन कर्मचारी तथा समूहका पदाधिकारी र उपभोक्ताको संयुिक्त टोलीले डढेलो नियन्त्रणमा ल्याएको हो ।
 

आईतबारदेखि लागेको डढेलो ४८ घण्टा खेटर नियन्नत्रणमा ल्याएको सवडिभिजन वन कार्यालय देउरीका रेञ्जर बाबुराम फुयालले बताए । डढेलो नियन्त्रण गर्न समूहका अध्यक्ष दिपक बान्तवाले उपभोक्ता र पदाधिकारी लिएर आएको थिए भने फुयालसहितको कर्मचारी टोली सवडिभिजनबाट खटेको थियो् । 

 


उता चौदण्डीगढी नगरपालिकाका महाभारत र देउराली सामुदायिक वनमा पनि केहीदिनयता डढेलो लागेको छ । डिभिजन वन कार्यालय उयदपुर सहायक वन अधिकृत जागेश्वर साहका अनुसार ती समूहमा डढेलो लागेको खवर आएपछि निभाउन स्थानीय सवडिभिजन वन र उपभोक्ता समूहलाई निर्देशन दिइएको छ । 


वन कर्मचारी, समूहका पदाधिकारी र उपभोक्ता परिचालन गरेर डढेलो नियन्त्रणको काम भईरहेको साहले बताएका छन् । उनले त्रियुुगाका बाबरी र बरुवा सामुदायिक वन, सरस्वति र चौण्डीगढीका महाभारत तथा देउरालीमा लागेको डढेलो नियन्त्रणको काम भईरहेको बताए । 


त्यसैगरी कटारीतर्फ पनि डढेलो लाग्न सुरु भएको डिभिजन वन कार्यालय त्रिबेणी (कटारी)ले जनाएको छ । कटारीका सहायक वन अधिकृत भोगेन्द्र यादवका अनुसार उदयपुरगढीको नेपालटारस्थित गँैडेश्वर सामुदायिक वन समूहको जंगलमा ब्धबार डढेलो देखिएको छ । यादवले डढेलो लागेको देख्नेबित्तिकै नियन्त्रणका लागि  सबडिभिजन कार्यालय नेपालटार र वन समूहलाई निर्देशन दिइएको बताए । 


उदयपुरमा गाईघाट डिभिजनमातहत २ सय ५ र डिभिजन कटारीअन्तर्गत १ सय ५४ वटा सामुदायिक वन उपभोक्ता समूह दर्ता भएर क्रियासिल रहेका छन् ।     सुख्खा यामले गर्दा डढेलोको उच्च जोखिम हुनुका साथै उपभोक्ताहरुको आगलागीको हानीनोक्सानीबारे असावधानी र जनचेतनामा भएको कमीले सालबसाली डढेलोबाट वन जंगल विनाश हुने गरेको छ भने आगलागीबाट अपुरणीय जनधनको क्षति हुदै आएको छ ।