‘कोशी प्रदेश’ खारेज गर्न माग गर्दै गाईघाटमा राँके जुलुस, भोलि आमहड्ताल 

२0७९ फाल्गुन २७ शनिबार
‘कोशी प्रदेश’ खारेज गर्न माग गर्दै गाईघाटमा राँके जुलुस, भोलि आमहड्ताल 

उदयपुर, फागुन २७


षडयन्त्रपूर्वक प्रदेश १ को नाम ‘कोसी’ राखेको बिरोधमा पहिचानपक्षधरहरुले शनिबार राँकेजुलुस प्रदर्शन गरेका छन् । पहिचानसहितको प्रदेश नामाकरण गर्न माग गर्दै बिभिन्न चरणमा शान्तिपूर्ण आन्दोलन र संघर्ष हुँदै आए पनि मुख्यमन्त्री र सभामुखले षडयन्त्रपूर्वक पहिचानबिहीन नाम राखेको बिरोधमा राँके जुलुस प्रदर्शन भएको हो । 


कोसी प्रदेश नाम खारेज गर्दै पहिचानसहितको नाम राख्न माग गर्दै ‘प्रदेश पुनःनामाकरण संघर्ष समितिले आव्हान गरेको फागुन २८ गते आईतबारको प्रदेश आमहड्ताललाई सफल पार्न पहिचानपक्षधर संघसंस्थाहरुले राँके जुुलुस प्रदर्शन गरेको जनाएका छन् । संघर्ष समितिले कोशी खारेज गरी पहिचानयुक्त ‘किरात–लिम्बुवान–कोच’ प्रदेश नाम राख्न माग गर्दै आईतबार १ दिने आमहड्ताल घोषणा गरेको छ । 


आमहड्ुतालको अघिल्लो साँझ राँके जुलुल प्रदर्शन गरिएको किरात राई यायोक्खा उदयपुरकी अध्यक्ष गंगा राईले बताईन् । उनका अनुसार पहिचान पक्षधर संघसंस्थाहरुको शनिबार गाईघाटमा सम्पन्न भेलाले आमहड्तालप्रति ऐक्यबद्धता जनाउँदै शनिबार साँझ राँके जुलुस प्रदर्शन गर्ने निर्णय गरेको थियो । उनका अनुसार यायोक्खा जिल्ला, गाउँ, नगर, वडा तथा नेपाल आदिबासी जनजाति महासंघ जिल्ला, नगर, गाउँ, वडा र महांसघमा आबद्ध ३ दर्जन बढी बिभिन्न जातीय संघसंस्थाका पदाधिकारी सम्मिलित भेलाले प्रदेश आमहड्ताल पूर्णरुपमा सफल पार्न सहयोग गर्ने निर्णय गरेको छ । 


भेलाको निर्णय अनुसार सदरमुकाम गाईघाटसँगै अन्य स्थानीयतहका केन्द्रहरुमा पनि राँके जुलुस प्रदर्शन गरिएको राईले बताईन् । प्रदेश पुनःनामाकरण अभियानलाई पूर्णरुपमा साथ दिदै फागुन २८ गते घोषित आमहड्ताल सफल पार्न पनि मातहतका सबै तह र तप्काका पदाधिकारीलाई महासंघ र यायोक्खाले निर्देशन दिएको राईले बताएकी छिन् ।