प्रदेश नामाकरणबिरुद्ध फागुन २८ गते आमहड्ताल, चैत्र ५ गते विराटनगरमा विरोध प्रदर्शन

२0७९ फाल्गुन २५ बिहीबार
प्रदेश नामाकरणबिरुद्ध फागुन २८ गते आमहड्ताल, चैत्र ५ गते विराटनगरमा विरोध प्रदर्शन

मोरङ, फागुन २५
कोसी प्रदेशको पुनः नामकरण माग गर्दै फागुन २८ गते प्रदेशभरी आमहड्तालको घोषणा भएको छ । ‘प्रदेश १ को पुनः नामाकरण संघर्ष समिति कोसी नाम खारेज गर्दै किरात–लिम्बुवानसहितको पहिचानको नाम राख्न माग गर्दै प्रदेश हड्ताल र चैत ५ गते बृहत बिरोध प्रदर्शनको तयारी गरेको हो । 


किरात याक्थुङ् चुम्लुङ र किरात राई यायोक्खा केन्द्रीय समितिको संयोजनमा फागुन २३ र २४ गते भएको एकल र सामुहिक बैठकले कोसी प्रदेश नाम खारेजी गर्न माग गर्दै फागुन २८ गते प्रदेश आमहड्ताल र चैत्र ५ गते बृहत बिरोध प्रदर्शन गर्ने निर्णय भएको चुम्लुङका केन्द्रीय अध्यक्ष प्रेम एक्तेन लिम्बुले बताए । 

 

अध्यक्ष एक्तेननका अनुसार किरात राई यायोक्खा उपाध्यक्ष जनक राई, उपमहासचिव अर्जुन जम्नेली राई, प्रदेश सचिव राम माण्डुपा राई, चुम्लुङका प्रदेश अध्यक्ष डकेन्द्रसिंह थेगिम, आदिबासी जनजाति महासंघका पूर्ब महासचिव तथा पहिचान अभियन्ता आङ्काजी शेर्पा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन, जसपाका रमेश राई, लिम्बुवान नेता सञ्जुहाङ पालुङ्वालगायतको सहभागिता रहेको बैठकले पहिचानसहितको प्रदेश पुनः नामाकरणका लागि पहिले शान्तिपूर्ण नैतिक दबाब दिन समितिले आमहड्ताल र बिरोध प्रदर्शनको कार्यक्रम अघि सारेको हो । 


खम्बुवान राष्ट्रिय मोर्चाका केन्द्रीय उपाध्यक्ष दिलराम राई, किरात लिम्बुवान नामाकरण दबाब समुहका अध्यक्ष प्रेमदिप थाम्सुहाङ लगायतको पनि बैठकमा उपस्थिति थियो । बैठकमा सामाजिक तथा राजनीतिक संगठनमा आबद्ध नेताहरुले पनि आन्दोलनको उठान, प्रभाव, संभावना र चुनौतीबारे धारणा राखेका थिए । 


पहिचानको आन्दोलनमा पूर्व माओबादी नेता तथा पूर्वमन्त्री गोपाल किराती नेतृत्वको पार्टी, मंगोल नेशनल अर्गनाइजेसन, कोच, धिमाल, याक्खा, सुनुवारलगायत घटक संगठनहरु तथा एमाले, कांग्रेस र माओवादीभित्र रहेका पहिचानपक्षधर नेताहरुलाई पनि जोड्दै जाने निर्णय गरेको छ । प्रदेश नं. १ को मात्र पुनः नामाकरण नभएर मधेसशाहेक बाँकी ५ वटा प्रदेशको पनि पहिचानसहितको पुनः नामाकरण गर्न देशव्यापी पहिचान आन्दोलन गर्नुपर्ने निश्कर्ष बैठकले निकालेको छ । 


यसैगरी बुधबार काठमाडौंमा सम्पन्न नेपाल आदिबासी जनजाति महासंघको केन्द्रीय समिति बैठकले पनि १ नं. प्रदेशको पुनः नामाकरण संघर्ष समितिको आन्दोलनप्रति ऐक्यबद्धता जाहेर गर्दै नैतिक र भौतिक समर्थन तथा सहयोग गर्ने निर्णय भएको अध्यक्ष गेल्जे लामा शेर्पाले बताए । जनताले आफ्नो पहिचान मागिरहेको अवस्थामा खोला नदीको नामबाट प्रदेश १ को नाम राख्नुले देशमा द्वन्द् निम्त्याउने काम गरेको भन्दै तत्काल समाधानको उपाय भनेको पहिचानसहितको पुनः नामाकरण नै भएको भन्दै त्यसप्रति सँधै साथ र सहयोग गर्न तत्पर रहने निर्णय गरेको महासंघका महासचिव दिवस राईले बताए । 


कोसी नाम खारेज गर्न हुने आन्दोलनमा सहभागि हुन महासंघले १ नं. प्रदेशमातहतका १४ वटै जिल्ला समन्वय परिषदहरुलाई सर्कुलरसमेत जारी गरिसकेको पनि महासचिव राईले बताए । महासंघले न्याय र स्वतन्त्रताको आन्दोलन गाउँगाउँबाट उठाउन आव्हानसमेत गरेको छ । 


मुख्यमन्त्री र सभामुखले षडयन्त्रपूर्वक प्रदेशसभा सदस्यहरुलाई नाम राख्ने विषयमा १७ गते विहानसम्म थाहै नदिइ सदनमा एक्कासी प्रस्ताव गरेर धाकधम्की र जवरजस्ती गरी मत हाल्न लगाइएको आरोप छ । ‘हामीलाई त थाहै थिएन, एक्कासी नाम राख्नुपर्ने भयो मतदान गर्नु होला भन्ने निर्देशन आयो’ एक सांसदले नामाकरणबारे भएको षडयन्त्रबारे सुनाए ‘नामाकरणजस्तो गम्भीर विषयमा छलफल र बहस गर्नै नपाई कसरी गर्ने भन्दा पार्टीको निर्णय भन्दै अघोषित ह्वीप लगाइयो ।’ 


पहिचानविरोधी नामाकरणको विरुद्धमा त्यसैदिन साँझदेखि मुख्यमन्त्री र पार्टी संसदीय दलका नेताहरुद्वारा बिरोध प्रदर्शन, चक्काजाम, पुत्ला दहन र शान्तिपूर्ण नारा जुलुसका कार्यक्रमहरु हु्दै आएका छन् । खोटाङका प्रदेश सांसदहरुलाई जिल्ला प्रवेश र उनीहरु सहभागी कार्यक्रम निशेषको घोषणा नै गरिएको छ भने उदयपुरलगायत बिभिन्न जिल्लामा पहिचानसहितको प्रदेश पुनः नामाकरणको माग भईरहेको छ । यही क्रममा चुम्लुङ र यायोक्खाले २८ गते आमहड्ताल र ५ गते बिराटनगरमा बिरोध प्रदर्शन कार्यक्रम राखेको हो भने किराती मोर्चाले फागुन २६ गते नै आमहड्ताल घोषणा गरेको जानकारी दिएको छ ।