चामलिङ वाभोँछाको वंशावली प्रकाशन हुदै

२0७९ फाल्गुन २0 शनिबार
चामलिङ वाभोँछाको वंशावली प्रकाशन हुदै

उदयपुर, फागुन २०

किरात राई चामलिङभित्रको वाभोँछा समुदायको वंशावली निर्माण कार्य मध्ये चरणमा पुगेको छ । १० वर्षअघिदेखि नै सुरु वंशावली संकलन कार्यलाई अन्तिम रुप दिदै पुस्तक प्रकाशन गर्ने तयारी भईरहेको छ । 


यस विषयमा ठोस गर्न शनिबार गाईघाटमा सो समुदायको भेला सम्पन्न भयो । गाईघाटस्थित होटल ड्रिमल्याण्डमा आयोजित भेलाले खोटाङका नरेन्द्र राईको संयोजकत्वमा २३ सदस्यीय वंशावली लेखन तथा संपादन समितिको गठन गरेको छ । भेला आयोजक वाभोँछा समाज उदयपुरका अध्यक्ष दिलराज राईका अनुसार समितिको सहसंयोजकमा उदयपुरका म्याम्बर राई, सचिव पुषकुमार राई र सहसचिव धरानकी जीवनकला राई छानिएका छन् । 


खोटाङका बिभिन्न गाउँपालिकामा बसोबास गर्दै आएका १३ बस्ती, उदयपुरका गाईघाट, रौतामाई, लिमचुङबु्ङ, कटारी, ताप्ली, बेलका, चौदण्डीगढी, सुनसरीको धरान, तरहरालगायतका १२ बस्ती हरेकबाट कम्तीमा १–१ जना प्रतिनिधित्व हुने गरी समिति निर्माण गरिएको हो । समिति गठनसँगै भेलाले आर्थिक स्रोत जुटाउने, वंशावली संकलनलाई ठोस गर्ने, प्रशोधन, परिमार्जन तथा संपादन गरी प्रकाशनसम्म गर्ने गरी कार्यतालिका पारित गरेको छ । 


भेलाले आर्थिक सहयोग जुटाउनका लागि आफ्नै वंशभित्र चन्दादाताको खोजी गर्ने र १० हजारभन्दा माथि चन्दा दिने दातालाई विशेष सम्मान गर्ने निर्णय गरेको नवगिठत समितिका सचिव पुष्पकुमार राईले बताए ।