लालपत्ता र कटारीबाट लागु औषधसहित ३ पक्राउ 

२0७९ फाल्गुन २0 शनिबार
लालपत्ता र कटारीबाट लागु औषधसहित ३ पक्राउ 

उदयपुर, फागुन २०

उदयपुरका छुट्टाछुट्टै ठाउँबाट ३ जना लागु औषधसहित पक्रउा परेका छन् । जिल्लाको लालपत्ताबाट २ युवा र कटारी बेलसोतबाट १ जना पक्राउ परेको प्रहरीले जनाएको छ । 


त्रियुगा नगरपालिका ६ लालपत्तास्थित उदयपुर र सप्तरीको सीमाबाट बिभिन्न किसिमका ४५ एम्बपुल (थान) लागु औषध सागको मुठाभित्र लुकाएर सदरमुकाम भित्र्याउँदै गरेका २ युवा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । शुक्रबार साँझ लाहानदेखि गाईघाटतर्फ आउँदै गरेको अटो टेम्पोमा लालपत्ता प्रहरी चौकीले चेकजाँच गर्दा प्स्टीकमा बोकेको सागभित्र लुकाएर ल्याउँदै गरेको अवस्थामा त्रियुगा नगरपालिका १२ का २० वर्षीय रामशंकर कुमार साह र त्रियुगा ३ भुल्केका १८ वर्षीय अमिर भन्ने सजाद अलि पक्राउ परेका हुन् । 


साथको मुठाभित्र फेनार्गन १५ एम्पुल, डँईजोपाम १५ एम्पुल र बुप्रिनारेफिन १५ एम्पुल गरी ४५ एम्पुल प्रतिबन्धित लागु औषध फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी राकेश पोदारले बताए । उनका अनुसार उनीहरुलाई शनिबार जिल्ला प्रहरी कार्यालय गाईघाट ल्याएर अनुसन्धान सुरु भएको छ । 


त्यसैगरी शुक्रबारै राति ८ः३० बजे कटारी नगरपालिका १ बेलसोतबाट गाँजासहित  एक युवक पक्राउ परेका छन् । कटारी नगरपालिका १ कालीखोलामा गाँजा ओसारपसार भईरहेको भन्ने विशेष सुराकीका आधारमा खटेको प्रहरी चौकी बेलसोतको टोलीले सिराहाको मिर्चया नगरपालिका ४ का २२ वर्षीय ललित साहलाई गाँजासहित पक्राउ गरेको हो । 


प्रदेश २–०१–००१ प १५२६ नम्बरको स्कुटीमा कटारीबाट मिर्चयातर्फ जाँदै गरेका साहमाथि चेकजाँच गर्दा स्कुटरमा लुकाई छिपाई राखेको २२ किलो गाँजा बरामद भएको हो । साहलाई स्कुटी र गाँजासहित पक्राउ गरी इलाका प्रहरी कार्यालय कटारीमा ल्याएर अनुसन्धान सुरु भएको इप्रका कटारीका डिएसपी रविन कार्कीले बताएका छन् ।