वडाध्यक्षको निधनमा त्रियुगाको सार्वजनिक बिदा

२0७९ फाल्गुन १४ आईतवार
वडाध्यक्षको निधनमा त्रियुगाको सार्वजनिक बिदा

गाईघाट, फागुन १४

१२ नं. वडाध्यक्षको निधन भएको शोकमा त्रियुगा नगरपालिकाले आईतबार सार्वजनिक बिदा दिएको छ । गत ६ गते शिवरात्रिको साँझ स्कुटी दुर्घटनामा परेका वडाध्यक्ष चुडाराज काफ्लेको निधनको शोकमा नगरपालिकाले बिदा दिएको हो । ्


शिवरात्रिमा आयोजित एक कार्यक्रममा सहभागी भई फर्कदै गर्दा घरछेउमै स्कुटी दुर्घटनामा परी गम्भीर घाईते भएका वडाध्यक्ष काफ्लेको उपचारको क्रममा बिराटनगरमा शनिबार निधन भएको हो । उनको पार्थिव शरिरलाई श्रद्धाञ्जलीका लागि नगरपालिका प्रांगणमा राखिएको छ । 


अघिल्लो दिन नै जिल्ला फर्काइएको काफ्लेको उदयपुर अस्पतालमा पोष्टमार्टम गरिएको छ । श्रद्धाञ्जली अर्पणपछि काफ्लेको त्रियुगा नदीकिनार आर्यघाटमा अन्त्यष्ठि गर्ने कार्यक्रम रहेको नगरपालिकाले जनाएको छ । 


काफ्लेको पार्थिव शरिरमा त्रियुगा नगरप्रमुख बसन्तकुमार बस्नेत, उपप्रमुख महेश्वरी राई, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन, १५ वटै वडाध्यक्षहरु, कार्यपालिका तथा वडा सदस्यहरु र कर्मचारीलगायत नगरबासी सर्वसाधारणले श्रद्धाञ्जली दिएका छन् । 


पूर्व राष्ट्रसेवक कर्मचारीबाट सेवा निबृत्त काफ्ले गत ०७९ वैशाख ३० गते सम्पन्न स्थनीयतह निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट वडाध्यक्ष जितेका थिए । उनका श्रीमति, छोरा र छोरी छन् ।