मन्त्री आचार्यद्वारा साकेलाथानको अनुगमन

२0७९ फाल्गुन ६ शनिबार
मन्त्री आचार्यद्वारा साकेलाथानको अनुगमन

उदयपुर, फागुन ६

प्रदेश १ का संस्कृति, पर्यटन वन तथा वातावरण मन्त्री जीवन आचार्यले किराती समुदायको साँंस्कृतिकस्थल साकेलाथानको स्थलगत अनुगमन गरेका छन् । मन्त्री भएपछि पहिलो पटक उदयपुर आएका आचार्यले शुक्रबार साँझ त्रियुगा नगरपालिका ११ साकेलाटोलस्थित किरात र्सांस्कृतिक थलो साकेलाथानको निरीक्षण भ्रमण गरेका हुन् । 
    

किरात राई यायोक्खा उदयपुरको आमन्त्रणमा अनुगमन भ्रमण गर्न पुगेका मन्त्री आचार्यलाई यायोक्खा उदयपुरकी अध्यक्ष गंगा राईले किरात संँस्कार अनुसार सेतो फेटा (पगरी) गुथेर स्वागत गरेकी थिईन् । सो अवसरमा अध्यक्ष राईले मन्त्री आचार्यलाई किरात संँस्कारमा अनिवार्य उपयोग गरिने वाबु (चिन्डो) पनि मायाको चिनो स्वरुप प्रदान गरिन् । 


उदयपुर प्रदेश १ (क) का सांसद एवं माओबादी नेता राजन किराती (बासु)सहित साकेला थान पुगेका मन्त्री आचार्यले यायोक्खाको स्वागत ग्रहण गर्दै किरातीहरुको ऐतिहासिक थलोलाई पर्यटकीयस्थलमा विकास गर्न आफु प्रतिबद्ध रहेको बताए । उनले साकेलाथानलाई किराती समुदायको सांस्कृतिक पर्यटकीयस्थलको रुपमा विकास गर्न ठोस योजना बनाएर मन्त्रालयमा माग गर्न आग्रह गर्दै त्यसका लागि आवश्यक बजेटको व्यवस्था गर्ने प्रतिबद्धता जनाएका दिए । 
 


उदयपुरको वन तथा वातावरणको बस्तुगत अवस्थाबारे अध्ययन गर्न आएका मन्त्री आचार्य शुक्रबार साँझै त्रियुगा नगर पार्टी कमिटीद्वारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागी भए । नयाँ बसपार्कस्थित नेकपा (माओबादी केन्द्र) को कार्यालयमा कार्यकर्तासँग भेटघाट गर्दै मन्त्री आचार्यले आफु लामो समयसम्म जनताको सेवा गर्ने उदेश्यले राजनीतिमा लागेको बताए । 


स्वार्थ पूर्ति गर्ने भए सांसद र मन्त्री नभई पनि गर्न सक्ने ल्याकत राख्ने बताउँदै उनले मुलुकको परिवर्तनलाई आत्मसात गर्दै जनताको भावना र चाहना अनुसार काम गरेर देखाउने उनको भनाई थियो । गएको चुनावमा माओबादीले ३२ सीट मात्र ल्याएर तेस्रो शक्ति भए पनि प्रधानमन्त्री भएर देश हाँक्ने मौका पाएको भन्दे त्यो मौकालाई देश र जनताको सेवा गर्ने अवसरको रुपमा सदुपयोग गर्नुपर्ने बताए । 


मन्त्री आचार्यले प्रदेशहरुमा पनि सरकारमा सहभागी हुन पाएको माओबादीले पार्टीको भविष्य र जनताको भाग्य निर्माण गर्ने गरी रणनीतिक योजना बनाएर अघि बढ्ने बाचा गर्दै त्यसका लागि गाउँदेखि केन्द्रसम्म नेता कार्यकर्ताले सरकारलाई सहयोग गर्न आग्रह गरे । भेटघाट कार्यक्रममा पार्टी त्रियुगा नगर इन्चार्ज बिमल किराती, अध्यक्ष मानबहादर राई, सचिव कुरुङ राई, प्रेस सेन्टरका केन्द्रीय सदस्यहरु महेश्वर चामलिङ, हरिकुमार राई र भोटराज राई तथा पार्टीबाट निर्वाचित त्रियुगा १४ का वडाध्यक्ष हिमराज मगर र १५ का वडाध्यक्ष गणेश तिम्सीनालगायतले मन्त्रीसँग बिभिन्न विषयमा कुरा राखेका थिए ।


पार्टी कार्यकर्तासँगको भेटघाटले समय घर्किसके पनि शुक्रबार रातिसम्म डिभिजन वन कार्यालय प्रमुखलगायत कर्मचारीसँग भेट गरी वन तथा वातावरणको अवस्थाबारे जानकारी लिनुका साथै चुस्त सेवा तथा वन र वातावरणको रक्षा गर्न आवश्यक निर्देशन दिएका थिए । शनिबार पनि दिनभर व्यस्त रहेका मन्त्री आचार्यले त्रियुगा नगरपालिका ५ र ६ नं. वडाका श्रीपुर र लालपत्ता पार्टी कार्यकर्ता भेटघाट, बिभिन्न सामुदायिक वन समूहहरुको अनुगमन गरेका थिए भने कटारीस्थित डिभिजन वन कार्यालय त्रिबेणीको नवनिर्मित भवनको उद्घाटन गरेको  पार्टी कटारी नगर कमिटी अध्यक्ष मणिराज दाहालले बताएका छन् ।