जनयुद्ध दिवसलाई स्वागत गर्दै दिपापली 

२0७९ फाल्गुन १ सोमबार
जनयुद्ध दिवसलाई स्वागत गर्दै दिपापली 

उदयपुर, फागुन १

उदयपुरमा सोमबार साँझ दिपावली गर्दै ‘२८ औँ जनयुद्ध दिवस ०७९’ मनाइएको छ । ०५२ फागुन १ गते जनयुद्ध सुरु गरेको स्मरणमा नेकपा (माओबादी केन्द्र) ले जिल्लाका ४ नगर र ४ गाउँपालिका गरी ८ वटै स्थानीयतहमा दिपावली गर्दै दिवस मनाएको हो । 


गाईघाटस्थित पिपल चोकमा आयोजित दिपावली कार्यक्रममा संविधानसभा सदस्य तथा माओबादीका वैकल्पिक केन्द्रीय सदस्य मोहन खत्री (दिपक), प्रदेश कमिटी सदस्य तथा प्रदेससभा सांसद सम्झना तामाङ (योद्धा) र पार्टी नगर कमिटी तथा त्रियुगा १६ का वडाध्यक्ष मानबहादुर राईले सम्बोधन गरेका थिए । केन्द्रीय सदस्य खत्रीले २८ वर्षअघि ४० सुत्रीय माग राख्दै जनयुद्धमा होमिएको माओबादीकै कारण आज देशमा अढाईसय वर्ष लामो राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको बताए । 


उनले जनयुद्ध सुरु गरेको दिन प्रहरी कुटाई खाएको स्मरण गर्दै १७ हजार नेपाली जनताको साहसिक बलिदानीबाट देशमा संघीयता प्राप्त भएको र त्यसले ४० सुत्रीयमध्ये अधिकांश माग पुरा गरेको भन्दै बाँकी अधिकार पाउन प्राप्त अधिकारको रक्षा गर्दै अघि बढ्नुपर्नेमा जोड दिए । १० वर्षे जनयुद्धले देशमा संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समानुपातिक व्यवस्था प्राप्त भएको तथा महिला, आदिवासी, जनजाति, दलित, पिछडा बर्ग र सीमान्तकृत समुदायले वर्षौँपछि राजनीतिक र सामाजिक अधिकार पाएर समान नागरिकको हैसियत बनाएको खत्रीले बताए ।


कार्यक्रममा प्रदेश सांसद तामाङले शदियौँदेखि दोस्रो दर्जाको नागरिकको रुपमा रहि आएका महिलाहरु जनयुद्धले चेतना भर्दै चुला चौका छाडेर काखको बच्चा पिठ्युँमा च्याप्दै बन्दुक बोकेर युद्ध लड्न सक्ने भएको बताईन् । उनले आज देशमा समावेशी समानुपातिक व्यवस्था ल्याएर गाउँगाउँमा सिंहदरवारको अधिकार पाउनुको मुख्य कारक जनयुद्ध भएको बताईन् । जनयुद्धकै कारण देशमा संघीयता र गणतन्त्र प्राप्त भएको भन्दै अझै धेरै अधिकार पाउन बाँकी रहेकाले प्राप्त अधिकारको रक्षा गर्दै थप अधिकारका लागि लड्न जनयुद्ध दिवसले उर्जा थप्ने बताईन् । 

माओबादी त्रियुगा नगर कमिटी अध्यक्ष राईले जनयुद्धको जगमा देशमा परिवर्तन आएपछिको १५ वर्षपछि भए पनि सरकारले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिएकोमा सरकारलाई धन्यबाद दिए । उनले जनयुद्ध सफल बनाउने सहिदप्रति सम्मान गर्दै बेपत्ताको स्मरण र घाईते अपांगको स्वास्थ्य लाभको कामना  गरे । 


माओबादीको अगुवाईमा जिल्लाभर सोमबार साँझ दिपावली गर्दै दिवस मनाइइको वाईसिएल नेपाल उदयपुरका इन्चार्ज ज्ञानेन्द्र मगरले बताए । उनका अनुसार पार्टी नगर कमिटीले गाईघाटलगायत त्रियुगा नगरपालिकाका १६ वटै वडामा दिपावली गर्दै जनयुद्ध दिवस मनाएको छ । जस अनुसार अनुसार १ नं. को हाटडाँडा, २ को जोगीदह, ३ को मोतिगडा, ४ को बगाहा, ५ को श्रीपुर, ६ को जलजले, ७ को चुहाडेमा दिपावली गरिएको छ । त्यस्तै ८ नं. वडाको राजाबास, ९ को गहिरुन, १० को बोक्से, ११ को गाईघाट, १२ को पुरानो गाईघाट, १३ को असारी, १४ को साउने, १५ को खाँबु र १६ नं. वडाको चिलाउनेमा दिपावली गरिएको पार्टी नगर कमिटीले जनाएको छ । 


जनयुद्ध दिवसको अवसरमा जिल्लाका चौदण्डीगढी, कटारी र बेलका नगरपालिकाका बिभिन्न वडाहरु तथा रौतामाई, लिमचुङबुङ, उदयपुृरगढी र ताप्ली गाउँपालिकामा पनि दिपावली र अन्य बिबिध गतिबिधि गर्दै जनयुद्ध दिवस मनाइएको स्थानीय पार्टी कमिटीहरुले जनाएका छन् ।