प्रदेश पूर्वाधारमन्त्री जिल्ला दौडाहामा

२0७९ माघ २८ शनिबार
प्रदेश पूर्वाधारमन्त्री जिल्ला दौडाहामा

उदयपुर, माघ २८

१ नं. प्रदेशका सडक पूर्वाधार तथा सहरी विकास मन्त्री दुर्गाप्रसाद चापागाई प्रदेश दौडाहामा व्यस्त छन् । नेकपा (माओबादी केन्द्र)का केन्द्रीय सदस्यसमेत रहेका चापागाई प्रदेश सरकारमा मन्त्री भएपछि १४ वटै जिल्ला पुगेर त्यहाँको वास्तविक वस्तुस्थिति बुझ्न दौडाहामा निस्केका हुन् । 


यसैक्रममा अघिल्लो दिन मन्त्री चापागाई उदयपुर आएका छन् । विहान बेलका र चौदण्डीगढी नगरपालिकाको भ्रमण सकेर सदरमुकाम त्रियुगा नगरपालिका आएका मन्त्री चापागाईले गाईघाटस्थित पूर्वाधार विकास कार्यालयको निरीक्षण गर्नुका साथै केही योजनाहरुको स्थलगत अनुगमनसमेत गरेका छन् । 


मन्त्री चापागाईले त्रियुगा १२ बिसनपुरस्थित बरुवा खोलामा निर्माणाधीन झोलुङ्गे पुलको स्थलगत अबलोकन गरेको कार्यालय प्रमुख (डिई) गंगासागर यादवले बताए । उनका अनुसार १ सय ७० मिटर लम्बाई र १ मिटर चौडाईको उक्त पुल निर्माणको अन्तिम चरणमा पुगेको छ । प्रदेश सरकारको सडक पूर्वाधार मन्त्रालयको २ करोड ५० लाख लागतमा निर्माणाधीन पुल बनेपछि वर्षायाममा बिसनपुरदेखि लक्ष्मीपुर आउजाउ गर्न यसअघि बाढीले पार्दै आएको समस्या हट्ने डिई यादवले बताए । 


पुलको अनुगमनपछि पूर्वाधार कार्यालयकै बैठककक्षमा मन्त्री चापागाईले कमैचारीसँग भेटघाट तथा सात्क्षात्कार गरेका थिए । सो क्रममा हरेक विकास निर्माणका योजनाहरु समयमै सक्न कर्मचारीहरुलाई आवश्यक निर्देशन दिएको यादवले बताए । अनुगमनमा आएका मन्त्री चापागाईलाई डिई यादवलगायत कर्मचारीहरुले न्यानो स्वागत गरेका थिए । 


सोही दिन मन्त्री चापागाईले नेकपा (माओबादी केन्द्र) को कार्यालय पुगेर नेता कार्यकर्ताहरुसँग भेटघाट गरे । पार्टी त्रियुगा नगर कमिटीद्वारा आयोजित स्वागत तथा अन्तरक्रिया कार्यक्रममा मन्त्री चापागाईलाई केन्द्रीय सदस्य सुरेशकुमार राई (हिमाल), प्रदेस सदस्य द्रोण पौडेल (निरज), प्रदेश सांसदहरु राजन किराती (बासु), सम्झना पाख्रिन (योद्धा), नारायण बुर्जामगरलगायतले स्वागत गरेका थिए । 


कार्यक्रममा पार्टीका त्रियगा नगर कमिटी अध्यक्ष मानबहादुर राई, ताप्ली कमिटी अध्यक्ष गुरु पोखरेल, कटारी नगर कमिटी सदस्य हेम दाहाल, उदयपुरगढी कमिटी सदस्य देव गिरी, लिमचुङबुङ कमिटी सदस्य गन्जु शेर्पा र नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतिका केन्द्रीय सदस्य गणेश कार्कीले आआफ्नो ठाउँको पार्टीगत अवस्था र विकास निर्माणको आवश्यक्ताबारे जानकारी गराए । नगर कमिटी सचिव कुरुङ राईले सञ्चालन गरेको कार्यक्रममा बोल्दै मन्त्री चापागाईले प्रदेश सरकारले जनताको आवश्यक्ता र पार्टीको निर्देशन अनुसार काम गर्ने प्रतिबद्धता जनाए । 


पार्टी संगठनप्रति प्रतिबद्ध भएर चुनाव जित्दै मन्त्रीसम्म बन्न सफल भएकाले पार्टीको हित अनुकुल मात्र काम गर्ने उनको प्रतिबद्धता थियो । पार्टीको स्थानीय नेतृत्वले बस्तुगत आवश्यक्ताका योजनाहरु टिपोट गरेर ल्याउन आग्रह गर्दै सरकारको स्रोत र साधनले भ्याएसम्म सहयोग गर्न तयार रहेको बताएका थिए । आफु पार्टी र जनताको पक्षमा रणनीतिक योजनाहरु सञ्चालन गर्ने पक्षमा रहेको भन्दै त्यसका लागि सिंगो पार्टी नेतृत्व र संगठनको साथ चाहेको चापागाईको भनाई थियो । 


सोही दिन मन्त्री चापागाईले केही वर्षयता क्यान्सर रोगसँग युद्ध लड्दै आएका पार्टी नेता भिमबहादुर अधिकारी (अनिल)लाई त्रियुगा १२ जनजाति चोकस्थित उनकै निवास पुगेर स्वास्थ्य लाभको कामना गरेका थिए ।