३ दिनमा ३ ठाउँबाट काठसहित ३ जना पक्राउ 

२0७९ माघ २२ आईतवार
३ दिनमा ३ ठाउँबाट काठसहित ३ जना पक्राउ 

उदयपुर, माघ २२ 

गएको ३ दिनमा फरक फरक ३ ठाउँबाट अवैध काँचो काठसहित ३ जना पक्राउ परेका छन् । शनिबार मात्र त्रियुगा नगरपालिका ५ श्रीपुर र चौदण्डीगढी नगरपालिका १० खैराबाट काठ र मान्छे पक्राउ परे भने ३ दिनअघि कटारीबाट काठसहित २ जना पक्राउ परेका थिए । 


श्रीपुरस्थित केदार कार्कीको गोठमा लुकाई राखेको अवस्थामा शनिबार दिउँसो १ः०० बजे ३० थान अवैध बटम सवडिभिजन वन कार्यालय गाईघाटले बरामद गरेको हो । वैधानिक आधार प्रमाण खुल्ने कागजात नभएको काठ फेला पारेपछि बरामद गरेर स्थानीय सरस्वति सामुदायिक वन उपभोक्ता समूहको कार्यालयमा राखिएको सवडिभिजन वन कार्यालय गाईघाटका रेन्जर बाबुराम फुयालले बताए । 


फुयालका अनुसार जलजलेस्थित उदयपुर सिमेन्ट उद्योग लिमिटेड कारखाना नजिकै कुसुमटारस्थित बालविकास केन्द्र भवन आसपासमा काठ ओसारपसार हुँदै गरेको भन्ने सूचनाको आधारमा टोली पठाउँदा अवैध काठ फेला परेपछि नियन्त्रणमा लिएर अनुसन्धान सुरु भएको उनले बताए । 


काठ राखेको घरधनी कार्की फरार रहेकाले खोजी भईरहेको सरस्वति सामुदायिक वन समूहका अध्यक्ष दिपक बान्तवालले बताए । उनका अनुसार बरबमद काठको परिमाण २९.३४ क्युबिक फिट रहेको छ । 


त्यसैंगरी सोही दिन साँझ ७ः३० बजे चौदण्डीगढी नगरपालिका १० खैराझोडास्थित कुन्तीमाई सामुदायिक वन उपभोक्ता समूहबाट काँचो काठको टुनासहित सोही वडाको हडियाका २० वर्षीय मञ्जित सदा पक्राउ परेका थिए । इलाका प्रहरी कार्यालय कटारीबाट खटेको टोलीले सदालाई स ७ प १५३ नं. को मोटरसाईकलमा सखुवा काठको टुना लोड गरिरहेको अवस्थामा पक्राउ गरेको जनाएको छ ।  


सदासँगै प्रहरीले घट्नास्थलमा झाडीमा छोपेर लुकाई छिपाई राखेको अवस्थामा थप ४ टुना सखुवाको काठसमेत बरामद गरेको छ । बरामद काठ २८.५ क्युविक फिट रहेको जनाइएको छ । सदालाई काठ र मोटरसाईकलसहित नियन्त्रणमा लिएर अनुसन्धान सुरु भएको निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक मोहन थापाले बताए । 


उता कटारी नगरपालिका १ स्थित सुगाजोर सामु्दायिक वन समूहको जंगलबाट ३ दिनअघि १८ थान बटमसहित २ जना पक्राउ परेका थिए । डिभिजन वन कार्यालय कटारी, इलाका प्रहरी कटारी र सशस्त्र प्रहरी बल बेसक्याम्प कटारीको संयुक्त टोलीले अबैध काँचो काठ र मान्छे पक्राउ गरेको हो । विहान २ः०० बजे भएको पक्राउ पर्नेमा मधेस प्रदेश सिराहाको गोलबजार नगरपालिका १० घुर्मी बजारका २४ वर्षीय कृष्ण लिम्बु र कटारी १ का विकास मगर रहेको डिभिजन वन कार्यालय कटारीका प्रमुख (डिएफऔ) विष्णुलाल घिमिरेले बताए । 


डिएफओ घिमिरेका अनुसार सो ठाउँमा ३ वटा सखुवाका काँचो रुख ढालेको अवस्थामा भेटिएको छ । घट्नास्थल सिराहा र उदयपुरको सीमाक्षेत्रमा पर्ने चुरे जंगल रहेको छ । उनीहरुको साथबाट २ थान पेट्रोलबाट चल्ने रुख ढाल्ने यन्त्र र अन्य बन्दोबस्तीका सामान पनि बरामद भएको छ ।