लिमचुङबुङ लक्ष्यः पर्यटन प्रवद्र्धन गर्न होमस्टे चलाउने

२0७९ माघ १९ बिहीबार
लिमचुङबुङ लक्ष्यः पर्यटन प्रवद्र्धन गर्न होमस्टे चलाउने

उदयपुर, माघ १९
    
उदयपुृरको बिकट पहाडी गाउँपालिका लिमचुङबुङ आन्तरिक पर्यटन प्रवद्र्धनको आक्रामक लक्ष्य लिएर अघि बढन थालेको छ । पर्यटन विकासलाई समृद्धिको मुख्य आधार मानेको गाउँपालिकाले त्यसका लागि व्यवस्थित र योजनाबद्ध तरिका अपनाउने उदेश्यले बिभिन्न गतिबिधिहरु सञ्चालन गर्न थालेको छ । 

 


यसै सिलसिलामा गाउँपालिकाभित्रै बाक्लो संख्यामा होमस्टे सञ्चालन गर्ने योजनासहित होमस्टे सञ्चालन बिधिबारे तालिम आयोजना गरेको छ । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाटहम) को संयोजन र गाउँपालिकाको आयोजनामा वडा नं. ३ बाराहास्थित मु्काममा बुधबारदेखि ‘होमस्टे सम्बन्धी व्यवस्थापन तालिम’ सुरु भएको छ । 


पर्यटन तथा होटल व्यवस्थापन विज्ञहरु अजय बखती, हसिन महर्जन र धर्मराज उप्रेतीले तालिममा सहजीकरण गरिरहेका छन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रराज गुरुङका अनुसार बखती नाटहमका तालिम संयोजक तथा प्रशिक्षकसमेत हुन् भने महर्जन र उप्रेती होटल व्यवस्थापनका ज्ञाता हुन् । 


तालिममा सहभागीहरुलाई प्रशिक्षकत्रयले होमस्टे सञ्चालन बिधि, बिभिन्न स्थानीय उत्पादनका खानेकुरा पकाउने पाक कला शिक्षा, पाहुनालाई स्वागत गर्ने तरिका र आवास व्यवस्थापन आदि विषयमा प्रशिक्षण दिनेछन् । १८ गतेदेखि सुरु तालिम आउँदो २४ गते समापन हुने अधिकृत गुरुङले बताए । 


७ दिने गृह व्यवस्थापन तालिममा २० महिला र ११ पुरुष गरी ३१ जना होमस्टे तथा पर्यटन व्यवसाय उन्मुख स्थानीयको सहभागिता रहेको छ । जस अनुसार वडा नं. ३ का १५, वडा नं. २ का १३ र बाँकी ३ जना अन्य वडाबाट सहभागिता रहेको हाकिम गुरुङले बताए । तालिम प्राप्त प्रशिक्षार्थीहरुलाई बिभिन्न ठाउँमा पर्यटकमैत्री होमस्टेहरु सञ्चालन गर्न उत्प्रेरित गर्न गाउँपालिकाले आवश्यक सहयोग र समन्य गर्ने छ ।