निशूल्क जग्गादातालाई विद्यालयको सम्मान

२0७९ माघ १६ सोमबार
निशूल्क जग्गादातालाई विद्यालयको सम्मान

गुरुङचौरी, माघ १६


बेलका नगरपालिका ४ स्थित जनता नमूना माध्यमिक विद्यालय गुरुङचौरीलाई करोडौँको जग्गा दान गर्ने गुरुङ परिवार सम्मानित भएको छ । सोमबार विद्यालय परिसरमा आयोजित एक कार्यक्रममा जग्गादाता चन्द्रबहादुर गुरुङका छोरा अर्जुनकाजी, बुहारी सकुन्तला, छोरी गंगामाया र ज्वाई खड्गबहादुर गुरुङलाई विद्यालयले सम्मान गरेको हो । 

 


कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष मनोज तामाङ, प्रमुख अतिथि बेलका नगरप्रमुख अशोक कार्की र प्रधानाध्यापक सम्मर राईलगायतले जग्गादाता परिवारलाई दोसल्ला ओढाउँदै प्रशंसापत्रले सम्मान गरे । सम्मान गर्दै मेयर कार्कीले अहिलेको चालु मूल्य अनुसार झण्डै १५ करोड पर्ने जग्गा निशूल्क विद्यालयलाई दिने दाताको जति प्रशंसा गरे पनि कमै हुने बताए । 


गुरुङ परिवारले दिएको जग्गामै स्थापना भई सञ्चालनमा रहेको विद्यालय अहिले बेलकाकै नमूना र अगुवा शिक्षण संस्थाको रुपमा स्थापित भएको मेयर कार्कीले बताए । उनले अहिलेको स्वार्थी जमानामा यत्ति ठूलो छाति भएको महान् मान्छे विरलै पाइने भन्दै गुरुङ परिवारप्रति नगरपापलिका गौरवान्वित भएको बताए । ‘अहिलेको जस्तो स्वार्थै स्वार्थले भरिएको जमानामा पनि यत्ति महान् व्यक्तिहरु हामीसँग हुनु गौरवको कुरा हो’ कार्कीले भने ‘यस्ता महान् मान्छेहरु हाम्रो बेलकामा छन् भन्दा गर्वले छाति फुल्छ ।’

 


मेयर कार्कीले जग्गादाता परिवारको माग अनुसार विद्यालय परिसरमा शालिक निर्माण गर्न सकिने भन्दै त्यसका लागि नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि जनाए । विद्यालयलाई जग्गा दिने गुरुङ परिवारको माग अनुसार चन्द्रबहादु्र गुरुङको शालिक बनाउन नगरपालिकाबाट हुने खालका सबै सहयोग गर्न आफु तयार रहेको कार्कीको भनाई थियो । 


विद्यालय व्यवस्थापन समिति अध्यक्ष मनोज तामाङले महान् व्यक्ति चन्द्रबहादुर गुरुङकै नामबाट सो ठाउँको नाम ‘गुरुङचौरी’ रहन गएको बताए । गुरुङले जग्गा दिएकै ठाउँमा स्थापित भएर सञ्चालन हुँदै आएको विद्यालय आज नगरपालिकाकै नमूना विद्यालयमा घोषित भएर हजारौँ बालबालिकालाई गुणस्तरीय शिक्षा दिदै आएको बताए । 


सो विद्यालयलाई प्रदेश १ कै नमूना विद्यालयमा रुपान्तरण गर्ने गरी काम भईरहेको भन्दै अध्यक्ष तामाङले त्यसका लागि नगरपालिका, विद्यार्थी, शिक्षक र अभिभावकहरुले साथ दिन आग्रह गरे । गुरुङ परिवारले दिएको जमिन फराकिलो भए पनि अवैध तरिकाले अतिक्रमण हुदै गएपछि घेराबेरा (कम्पाउण्ड वाल) गरेर सुरक्षित गरिएको उनले बताए । घेराबार लगाइएपछि अहिले विद्यालयको जमिन मिच्ने काम रोकिएको अध्यक्ष तामाङको भनाई थियो । 

 


प्रअ राईले करोडौँ बराबरको जमिन विद्यालयलाई निशूल्क दान दिने महान् व्यक्तिप्रति सँधै सम्मान रहने बताए । उनका अनुसार गुरुङ परिवारले जमिन दिएकै कारण सो विद्यालय स्थापना भएर अहिलेसम्म नगरपालिकाकै अगुवा शिक्षण संस्थाको परिचय दिन सफल भएको हो । 


प्रअ राईले गुरुङ परिवारको ४ बिगाहा १३ कठ्ठा जमिन अहिलेको मूल्य अनुसार करोडौँको भएको तर, विद्यालयजस्तो पवित्र संस्थालाई सबै दान दिएकोमा मुक्त कण्ठले प्रसंसा गरे । उनले विद्यालयका लागि जग्गादाता गुरुङ परिवार कालान्तरसम्म स्तृत्य र पुजनीय रहिरहने बताए । 


गुरुङ परवारबाटै अक्षय कोष स्थापना 

 

 

सोमबारकै कार्यक्रममा गुरुङ परिवारले विद्यालयलाई एक अक्षय कोषको स्थापना पनि गरिदिएको छ । स्वर्गीय बाबु चन्द्रबहादुरको स्मृतिमा छोरा अर्जुनकाजी र बुहारी सकुन्तलाले २ लाख २२ हजार २ सय २२ रुपैँयाको अक्षय कोष स्थापना गरिदिएका हुन् । 


मेयर कार्की, वडाध्यक्ष तीर्थराज अधिकारी, विव्यस अध्यक्ष तामाङ र पूर्व विव्यस अध्यक्षहरु गर्भलाल राई, रामबहादुर कार्की, विव्यस सदस्यहरु, शिक्षक अभिभावक संघका पदाधिकारी, विद्यार्थी तथा कर्मचारीहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा अक्षय कोष वापतको रकम अर्जुनकाजी गुरुङले प्रअ राईलाई हस्तान्तरण गरे । रकम हस्तान्तरण गर्दै गुरुङले विद्यालयमा पढ्ने छात्रछात्रालाई व्याजबाट पुरस्कृत गर्ने गरी परिचालन गर्न आग्रह गरे । गुरुङ दम्पतिले स्थापना गरिदिएको २ लाख २२ हजार २ सय २२ रुपैँयाको अक्षय कोषमा थप्न अर्जुनकी चन्द्रबहादुरकी छोरी गंगामाया र ज्वाई खड्गबहादुर गुरुङले २५ हजार प्रदान गरिदिएका थिए । 

 


अक्षयकोषको रकम हस्तान्तरण गर्दै अर्जुनकाजी गुरुङले उ बेला जमिन फँडानी गर्दा हजारौँ हरिया रुख विरुवा काटेर पाप गरेकाले सो जग्गा पबित्र शिक्षण संस्थालाई  दान दिएर प्रायश्चित गर्ने कोशिस गरेको बताए । बाबुको नाममा जग्गा दान गरेको भन्दै गुरुङले तर, त्यसबेला ४ बिगाहा १३ कठ्ठा जमिन रहेकोमा अहिले चारैतिरबाट अतिक्रमण भएर जग्गा घटेकोमा दुःख मनाउ गरे । थप अतिक्रमण हुन नदिन गुरुङले मेयर कार्की, प्रअ राई र विव्यस अध्यक्ष तामाङलगायत सरोकारवाला र जिम्मेबार व्यक्तिहरुलाई आग्रह पनि गरे । 


विद्यालयले सो अक्षय कोषको रकम घुम्ती कोषको रुपमा परिचालन गर्दै आउने वार्षिक व्याजबाट वर्षेनी जेहेन्दार, गरिव, दलित र बिपन्न बर्गका विद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्ने निर्णय गरेको छ । मूलधन खर्च नगर्ने गरी परिचालन गर्ने र व्याज रकमबाट वार्षिक कार्यक्रमको आयोजना गरी छात्रबृत्ति रकम बितरण गर्ने निर्णय गरेको जानकारी पनि प्रअ राईले संस्थापक गुृरुङलाई दिए ।

 


कार्यक्रममा अध्यक्ष तामाङले विद्यालयको हाल रहेको प्रशासनिक भवनको बायाँपटि  फुलबारीमा जग्गादाता चन्द्रबहादुर गुरुङको शालिक निर्माण गर्ने वाचा गरे । उनले सो बगैँचालाई ‘चन्द्र बगैँचा’ नामाकरण गर्ने तथा बगैँचा परिसरमा शालिक निर्माण गर्ने घोषणा गर्दै शालिक निर्माण गर्न आवश्यक बजेट र प्राविधिक सहयोगका लागि प्रमुख अतिथि मेयर कार्कीलाई आग्रह गरे । 


जग्गादाता चन्द्रबहादुरका छोराहरु निरकाजी र अर्जुनकाजी गुरुङ हाल त्यहाँबाट बसाई सराई गईसकेका छन् । पुख्र्यौली घर खोटाङको दिक्तेल रुपाकोट मझुवागढी ६ भएर झण्डै ५ दशकअघि गुरुङचौरी झरेका उनीहरु हाल भक्तपुर र धरानमा स्थायी बसोबास गर्दै आएको प्रअ राईले बताएका छन् ।