उदयपुरका प्रहरीलाई डिआईजी ज्ञवालीले के भने ?

२0७९ माघ १२ बिहीबार
उदयपुरका प्रहरीलाई डिआईजी ज्ञवालीले के भने ?

उदयपुर, माघ १२

‘नागरिकको ज्यु धनको रक्षा गर्नू, अपराध नियन्त्रण, घटित अपराधको सफल अनुसन्धान, मुल्तवी (पेन्डिङ)मा रहेका मुद्धाहरुको चाँडो फस्र्यौट गर्नू’ प्रहरी नायव महानिरीक्षक (डिआईजी) श्यामलाल ज्ञवालीको निर्देशन थियो ‘लागू औषधको प्रयोग र ओसारपसार नियन्त्रणका लागि कडाईका साथ चेकजाँचको व्यवस्था मिलाउँदै त्यसबारे जनचेतनामूलक कार्यक्रमहरु नियमित सञ्चालन गर्नू ।’ 

 


बिहीबार जिल्ला प्रहरी कार्यालय उदयपुरको निरीक्षण गर्ने क्रममा १ नं. प्रदेश प्रहरी प्रमुखसमेत रहेका डिआईजी ज्ञवालीले थप निर्देशन दिए ‘प्रहरी संगठनको उद्देश्य र गरिवालाई सदैव उच्च बनाउने कार्यमा सबै लाग्नू !’ केहीदिनअघि मात्र प्रदेश प्रहरी प्रमुखको जिम्मेबारी सम्हालेका डिआईजी ज्ञवालीले मातहत जिल्ला प्रहरी कार्यालय तथा युनिटहरुको अनुगमन गर्ने क्रममा बिहीबार उदयपुर आएका हुन् । 


जिल्ला प्रहरी कार्यालयको निरीक्षण गर्ने क्रममा कार्यालय प्रमुख तथा सूचना अधिकारी र निरीक्षकदेखि मुद्धा, महिला तथा बालबालिका सेल, हिरासत कक्ष, हातहतियार, सञ्चार, प्राविधिक, अपराध अनुसन्धान लगायत सबै शाखा तथा फाँटहरुको निरीक्षण गरेका थिए । निरीक्षण क्रममा उनले बिगतदेखि हालसम्मको अपराधका बिबरणहरु, फस्र्यौट मुद्धा, पेन्डिङ फाईल, कार्यालय भवनहरु, प्रमुख आवासदेखि सिपाही व्यारेक र मेस (क्यान्टिन)सम्मको निरीक्षण अवलोकन गरेको प्रवक्ता डिएसपी राकेश पोदारले बताए । 


निरीक्षणपछि डिआईजी ज्ञवालीलाई जिल्ला प्रहरी प्रमुख एसपी ज्ञानेन्द्र फुयालले स्थानीय बस्तुस्थितिको बारेमा जानकारी गराएका थिए । उनले जिल्लाको शान्ति सुरक्षा, मातहत युनिट र तिनको अवस्था, उपलब्ध जनशक्ति, हातहतियार तथा खरखजाना र अपराधको अवस्थालगायत  प्रगतिबारे ब्रिफिङ गरेका थिए । माथिल्लो तहबाट आउने आदेशको पालना गर्दै जिल्लाको शान्ति सुरक्षा कायम गर्न आफु कमाण्डको जनशक्ति र युनिहरु सदैव तयार रहेको प्रतिबद्धता एसपी फुयालले जनाएका थिए ।  


मध्यान्ह १२ः०० बजेजस्तो समयमा प्ररही परिसर छिरेका डिआईजी ज्ञवाली निरीक्षण, अवलोकन र आवश्यक निर्देशन दिएर बिहीबारै दिउँसो ४ः३० बजे प्रदेश मुख्यालय बिराटनगर फर्केको डिएसपी पोदारले बताए ।