लिमचुङबुङ ५ नं. वडा आफ्नै भवनमा

२0७९ माघ ११ बुधबार
लिमचुङबुङ ५ नं. वडा आफ्नै भवनमा

उदयपुर, माघ ११


दुर्गम पहाडी लिमचुङबुङ गाउँपालिकाको ५ नं. वडा जाँते आफ्नै प्रशासनिक भवनमा सरेको छ । साविक जाँते गाविस कार्यालय रहेको टोड्केमा २ तले नयाँ पक्की भवन बनेपछि वडाको सम्पूर्ण दैनिक कामकाज त्यहीँबाट सुरु गरेको छ । 


गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रराज गुरुङका अनुसार भवन निर्माण कार्य ३ वर्षअघि सुरु भएर भर्खरै सम्पन्न भएको हो । ७७ ला ९० हजार लागत मूल्यमा निर्मित भवन निर्माण गर्न गाउँपालिकाले आर्थिकवर्ष ०७७÷७८ मा ५० लाख र ०७८÷७९ मा ४० लाख बिनियोजन गरेको गुरुङले बताए ।

 


उनका अनुसार पहिलो वर्षको ५० लाख बजेटमध्ये निर्माण व्यवसायीबीच प्रतिस्पर्धा हुँदा ४४ लाख ७ हजारमा ठेक्का लागेर भुईतला निर्माण भयो भने दोस्रो चरणमा ३३ लाख ९० हजारमा ठेक्का लागेर पहिलो तला निर्माण भएको हो । पहिलो तलामा ३ कोठा र महिला पुरुषका लागि २ शौचालय छन् भने पहिलो तलामा २ कोठा, सभाकक्ष र शौचालय रहेको छ । 


वडाध्यक्ष कविचन्द्र राईले भुईतलाका वडा सचिवको कार्यकक्ष, पशु विकास र कृषि विकास कार्यालय राखिएको बताए । उनका अनुसार पहिलो तलामा वडाध्यक्ष कार्यकक्ष, बैठककक्ष र वडा सदस्यहरुको कार्यकक्ष राखिएको छ । वडाध्यक्ष राईले यसअघि व्यक्तिगत कच्ची घर भाडामा लिएर कार्यायल सञ्चालन गर्दै आएकोमा नयाँ भवन पाएपछि अव आफ्नै भवनबाट कामकाज गर्न पाइएको बताए । उनले भवन बनेपछि सेवा प्रवाह गर्न सहज भएको जानकारी पनि दिए । 

 


वडा सचिव केशवकुमार थापाले साविक गाउँ विकास समितिको कच्ची कार्यालय भवन माओबादीको सशस्त्र द्वन्द्वताका जलाएर ध्वस्त पारेपछि अहिलेसम्म भवनविहीन बस्नु परेको बताए । ढुंगामाटो र टिनको छानोवाल साविक गाविस भवन जलेपछि कार्यालयबिहीन भएको गाविस स्थानीयतह पुनर्संरचनासँगै ०७४ मा सम्पन्न चुनावपछि घर भाँडा लिएर वडा कार्यालय चलाउनु परेको थापाको भनाई छ । नयाँ वडा भवन बनेपछि जनप्रतिनिधि, कर्मचारी र सेवाग्राहीलाई काम गर्न र सेवा लिन सहज भएको सचिव थापाले बताए ।


आफ्नै भवन सञ्चालनमा आएसँगै भाडाको घरमा बस्नुपर्ने समस्या टरेको वडा कार्यालयका कम्प्युटर सहायक विजय कार्कीले बताए । आफ्नै भवनमा सरेपछि वडाबासी जनताको सेवा प्रवाह चुस्त, छिटो छरितो र प्रभावकारी रुपमा गर्न सकिने पनि उनले बताए । उनले अझै पर्याप्त कोठा नपुगेकाले तला थप्नुपर्ने अवस्था आएको पनि बताए । 

 


गत आईतबार गाउँपालिका अध्यक्ष मेजर राईले नवनिर्मित भवनको उद्घाटन गरे । , उपाध्यक्ष पुष्पलाल राई र प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रराज गुरुङसमेतको उपस्थितिमा सम्पन्न उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष राईले बिकट भौगोलिक अवस्थाको लिमचुङबुङ गाउँपालिका बिस्तारै विकसित हुँदै गएको बताए । उनले भौतिक पूर्वाधार, सडक, विद्युत, खानेपानी र शिक्षा स्वास्थ्यजस्ता आधारभूत कुरामा गाउँपालिका दु्रतगतिमा विकास निर्माणमा लागेको बताए । उनले पर्यटनको प्रचुर संभावना रहेको गाउँपालिकाको ३ नं. वडा दोबाटेमा बहुउदेश्यीय एभरेष्ट भ्युटावर निर्माण भईरहेको बताए । 


त्यस्तै कृषि विकासका लागि अध्यक्ष कृषि परियोजना सञ्चालन गरेर गाउँपालिकाबासीलाई आयआर्जनमुखी र आर्थिक रुपमा आत्मनिर्भर बनाउने अभियानमा लागेको अध्यक्ष राईको भनाई थियो । अध्यक्ष राईले आगामी केहीवर्षभित्रै लिमचुङबुङलाई जिल्लाकै नमूना गाउँपालिका बनाउने प्रतिबद्धता पनि जनाए । 


कार्यक्रममा शताब्दीनिकट पुगेकी ९४ वर्षीया बृद्धा जेष्ठ नागरिक पर्वलक्षी राईलाई दोसल्ला ओढाएर अध्यक्ष राईले सम्मान गरे । त्यसैगरी पञ्चायतदेखि बहुदल हुँदै स्थानीयतहसम्मका पूर्व जनप्रतिनिधि, सामाजिक अगुवा तथा स्वास्थ्यकर्मीलाई प्रशंसापत्रले सम्मान गरिएको थियो । उपाध्यक्ष राई र प्रमुख प्रशासकीय अधिकृत गुरुङले १० जना टोल विकास संस्थाका अध्यक्ष, १० जना महिला स्वयंसेविका, ३ जना स्वास्थ्यकर्मी र अन्य २१ गरी ४५ जनालाई प्रशंसापत्रले सम्मान गरेका थिए । 


लामो समयदेखि वडाको शिक्षा, स्वास्थ्य, सडकलगायत बिभिन्न क्षेत्रमा योगदान गर्दै आएकाहरुलाई सम्मान गरिएको वडाध्यक्ष राईले बताए । ५ नं. वडाले  गाउँपालिकाकै पहिलो पटक पक्की भवन पाएको पनि उनले बताएका छ्न । अन्य ४ वटा वडाभन्दा पहिला जाँतेले नयाँ भवन बनाएर सञ्चालन गर्न सफल भएकोमा उनले सम्बन्धित सरोकारवाला सबैलाई धन्यबाद पनि दिए । 


प्रमुख प्रशासकीय अधिकृत गुरुङले गाउँपालिकाका अन्य ४ वटा वडाका प्रशासनिक भवनहरु पनि निर्माण भईरहेको बताएका छन् । उका अनुसार ४ नं. वडा बलम्ता, ३ नं. बाराहा, २ नं. ताम्लिछा र १ नं. वडा बाँसबोटे वडा भवन निर्माण कार्य धमाधम  भईरहेको र केही भवनहरु अन्तिम चरणमा पुगेका छन् । आगामी वर्षभित्र सबै वडाहरु प्रशासनिक भवनयुक्त भईसक्ने पनि उनले बताए । अधिृकत गुरुङले गाउँपालिकाको प्रशासनिक भवन पनि दु्रतगतिमा निर्माण भईरहेको र आगामी वर्षभित्र गाउँ कार्यपालिका नयाँ भवनमा सरिसक्ने योजना रहेको बताए ।