त्रियुगा १० औँ नगरसभाः ३ करोड १५ लाख बजेट घट्यो

२0७९ पुष २९ शुक्रबार
त्रियुगा १० औँ नगरसभाः  ३ करोड १५ लाख बजेट घट्यो

उदयपुर, पुस २९

३ करोड बढी बजेटको आधार घटाउँदै त्रियुगा नगरपालिकाको ‘दशौँ नगरसभा ०७९’ शुक्रबार सम्पन्न भएको छ । नगरसभाले नगर उपपूमुख महेश्वरी राईले पेश गरेको संशोधित बजेट तथा नगरप्रमुख बसन्तकुमार बस्नेतले पेश गरेको झण्डै २ दर्जन बिभिन्न ऐन, कार्यबिधि र नीति पनि पारित गरेको छ । 

 


उपप्रमुख राईद्वारा प्रस्तुत चालु आर्थिक वर्ष ०७९/८० को संशोधित बजेट सभाले स्वीकृत गरेपछि नवौँ नगरसभाले पारित गरेको १ अर्ब २३ करोड वार्षिक बजेटबाट ३ करोड १५ लाख घटेको छ । नवौँ सभाले तर्जुमा गरेको बजेटमा कतिपय अत्यावश्यक शीर्षकमा रकम कम पर्न गएको तथा कुनैमा आवश्यक्ताभन्दा बढी भएकाले संशोधन गर्नु परेको उपप्रमुख राईले बताईन् । उनका अनुसार संशोधन गरिएका बजेट सबै पुँजीगत शीर्षकका हुन् ।


प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वनले नवौँ सभाले प्रक्षेपण गरे अनुसार नगरपालिकाको आन्तरिक आय संकलन नभएको तथा संघ र प्रदेशबाट राजश्व बाँडफाँडको रकम पनि लक्ष्य अनुरुप प्राप्त नभएकाले बजेट संशोधन गर्नु परेको बताए । चालु वर्ष १२ करोड ८५ लाख आन्तरिक आमदानी प्रक्षेपण गरिएकोमा अहिलेसम्मको संकलनले लक्ष्य चुम्न नसक्ने प्रष्ट भएको तथा संघ र प्रदेशले पठाउने बजेट पनि घटेकोले बजेटको आकार घटाउनु परेको हाकिम वनले बताए । 

 


सूचना अधिकारी तथा योजना अधिकृत विश्वजीत राईका अनुसार संशोधित बजटेमा पुँजीगततर्फको रकम शीर्षकान्तर, रकमान्तर र कटौती गरिएको छ । संशोधित बजेटमा नवौँ नगरसभाले पारित गरेको वडागत १ करोड २५ लाखमा १६ वटै वडाबाट ५ लाख घटाइएको छ । अर्को लागत सहभागिता शीर्षकको ५० लाख तथा १६ नं. वडा प्रशासनिक भवनका लागि बिनियोजित २८ लाख पनि भवन निर्माण भएर उद्घाटनसमेत भईसकेकाले कटौती गरिएको राईले बताए । 

 


नगरसभाले मेयर बस्नेतले निर्णयार्थ प्रस्तुत गरेको ६ वटा ऐन्, १३ वटा कार्यबिधि र २ वटा नीति तथा कार्ययोजना पनि पारित गरेको छ । नगर सभासदहरुले कर्तल ध्वनीका साथ पारित गरेको ऐन्हरुमा नगर शिक्षा ऐन् (दोस्रो संशोधन), जलस्रोत ऐन्, नगर कृषि ऐन्, साझेदारी कार्यक्रम सञ्चालन व्यवस्थापन ऐन्, वन तथा प्राकृतिक स्रोत संरक्षण सम्बन्धी ऐन् र संस्था दर्ता ऐन् रहेका छन् । 


त्यस्तै कार्यबिधितर्फ ऐलानी जग्गा लगत संकलन सम्बन्धी कार्यबिधि ०७९, भू–उपयोग कार्यबिधि, स्वास्थ्य बिमा सम्बन्धी कार्यबिधि, त्रियुगा अन्तरमावि रनिङ सिल्ड खेलकुद प्रतियोगिता सञ्चालन कार्यबिधि, लैंगिक हिंसा उद्धार कोष सञ्चालन कार्यबिधि, बिपत आपतकालीन केन्द्र सञ्चालन कार्यबिधि ०७९ पनि सभाले पारित गरेको छ । 

 

सभाले पारित गरेको अन्य कार्यबिधिहरमा मुसहर समुदायको सर्वाङ्गिण विकास परियोजनातर्फ करार कर्मचारी व्यवस्थापन सम्बन्धी कार्यबिधि ०७९, विषयगत समिति कार्य सञ्चालन कार्यबिधि, सूचना तथा अभिलेख केन्द्र स्थापना तथा सञ्चालन सम्बन्धी कार्यबिधि, स्थानीयतहको योजना प्रक्रियामा युवा सहभागिता सम्बन्धी कार्यबिधि, सार्वजनिक जवाफदेहिता प्रबद्र्धन सम्बन्धी कार्यबिधि र बाल अधिकार संरक्षण तथा संबद्र्धन सम्बन्धी कार्यबिधि ०७९ पनि पारित गरेको छ । सभाले त्रियुगा नगरपालिका सामाजिक समावेशीकरण नीति ०७९ तथा लैंगित नीति र कार्ययोजना ०७९ पनि पारित गरेको छ । 


नयाँ ऐन् तथा कार्यबिधिरुहरु पारित भएसँगै नगरको राजश्व बृद्धि हुने तथा अन्य अव्यवस्थित विषयहरु सहज हुने मेयर बस्नेतले बताए । भू–उपयोग कार्यबिधिले ऐलानी र अव्यवस्थित बसोबास व्यवस्थापन गर्न तथा जमिनको लगत संकलन गर्न सहज हुनेछ भने संघसंस्था दर्ता तथा नवीकरण जिल्ला प्रशासन कार्यालयमा लानुअघि नगरपालिकामा दर्ता गर्नुले स्थानीयतहभित्र क्रियासिल संघसंस्थाबारे जानकारी हुने उनले बताए । 


त्यसैगरी शिक्षा, स्वास्थ्य, खेलकुद, लैंगिक असमानता, वन तथा बिपत व्वस्थापन, कृषि, घर बहाल करजस्ता समस्याहरु पनि यो सभापछि सहजै समाधान गर्न सहयोग पुग्ने उनको भनाई छ । मेयर बस्नेतले सभामा उठेका बिभिन्न प्रश्नको जवाफ दिदै चालु वर्षको ६ महिना बित्दा पनि सोँचेजस्तो काम गर्न नसक्नुमा वर्षा बाढी, चाडबाड र चुनावले रोकेको बताए । ‘साउन र भदौमा वर्षा बाढीको समस्या आईपर्यो, असोज र कात्तिकमा दसैं, तिहार र छठजस्ता चाडपर्वहरु मनाउनै पर्यो’ मेयर बस्नेतले काम गर्न नपाउनुको कारण खुलाए ‘मंसिर सुरुदेखि र पुस अन्तिमसम्म प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव, त्यसपछि नयाँ सरकार गठनको प्रक्रियाले कामै गर्न पाइएन ।’


नगरसभामा २ दर्जन हाराहारी कर्मचारी सम्मानित भएका छन् । उनीहरुलाई मेयर बस्नेत, उपमेयर राई र हाकिम वनले प्रशंसापत्र प्रदान गर्दै सम्मान गरेका हुन् । राम्रो काम गर्ने कर्मचारीलाई प्रोत्साहन होस् भने र सम्मान गरिएको प्रशासन शाखा प्रमुख श्यामकुमार सुन्दासले बताए ।