‘पर्यटन तथा होटल व्यवसायी संघ उदयपुर’ गठन

२0७९ पुष २२ शुक्रबार
‘पर्यटन तथा होटल व्यवसायी संघ उदयपुर’ गठन

उदयपुर, मंसिर २२

उदयपुरका होटल तथा पर्यटन व्यवसायीहरु संस्थागत भएका छन् । जिल्लाको पर्यटन विकासमा मद्धत गर्ने उदेश्यले उनीहरुले ‘पर्यटन तथा होटल व्यवसायी संघ उदयपुर’ को गठनसमेत गरेका छन्  ।


सदरमुकाममा शुक्रबार भेला भएका स्थानीय होटल तथा पर्यटन व्यवसायीहरुले होटल वल्ड दरवारका सञ्चालक डेबिट बस्नेतको अध्यक्षतामा १९ सदस्यीय पर्यटन  तथा होटल व्यवसायी संघको तदर्थ समिति गठन गरेका हुन् । समितिका २ उपाध्यक्षमा होटल ए वान एलम्बरकी सञ्चालक सुनिता रेग्मी र प्रतापसिंह राई,  महासचिवमा होटल टाउन हलका सञ्चालक इश्वरमान राई तथा सचिव श्रवणकुमार चौधरी र कोषाध्यक्षमा सुरज साह छानिएका छन् ।


त्यसैगरी सदस्यमा राज बान्तवा, पशुपति चौधरी, गञ्जु शेर्पा, मिलन राई, सुमन कोईराला, लक्ष्मीराई, रोहितकुमार भुजेल, चन्द्रमाया श्रेष्ठ, संसार गुरुङ, हेम्बर थापामगर, हिरा साह, रामनाथ चौधरी र पर्वत राईलाई छानेको नवनिर्वाचित सदस्य गञ्जु शेर्पाले बताए । 


सदस्य शेर्पाका अनुसार नवगठिन समितिले विधान निर्माण गरी जिल्ला प्रशासन कार्यालयबाट शुक्रबारै दर्ता सकेर प्रमाणपत्र लिएको छ । समितिले अव छिट्टै जिल्लाका होटल व्यवसायलाई पर्यटनसँग जोडेर अघि बढ्ने योजना बनाएको छ । जस अनुसार संभावित पर्यटकीयस्थलहरुमा संघमा आबद्ध पदाधिकारी र सदस्यहरुले  होटल तथा होमस्टे सञ्चालन गर्ने, आवश्यक तालिम र प्राविधिक सहयोग गर्ने योजना अघि सार्ने शेर्पाले बताए । 

उदयपुरमा पर्यटनको संभावना भएका धेरै ठाउँहरु अहिले ओझेल परेको अवस्था छ । रौतापोखरी, चित्रेथाम, दोबाटे, ताप्ली पोखरी, उदयपुरगढी, चौदण्डीगढी, मैनामैनी, टंकेला, बेतिनी, त्रिबेणी, भित्तेढुंगा, बेलका तरीलगायत दर्जनौं आकर्षक पर्यटकीयस्थलहरु प्रचारप्रसार र विकास प्रबद्र्धनको अभावमा ओझेल परेका छन् । 


संघले ती संभावित ठाउँहरुको संरक्षण र विकास गर्दै होटल व्यवसायलाई पर्यटनसँग जोडेर आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।