पेस्तोल किन्न पाइन्छ ? 

२0७९ पुष १८ सोमबार
पेस्तोल किन्न पाइन्छ ? 

उदयपुर, मंसिर १८

‘यहाँ पेस्तोल किन्न पाइन्छ साहुजी ?’ गाईघाटस्थित एक गिफ्ट पसलमा आएको ठिटो ग्राहकको प्रश्नले साहुजी छक्क परे । किन भने उनले न कहिल्यै यस्तो ग्राहक देखेका थिए न त उनी पेस्तोल बेच्ने व्यापारी नै हुन् । उत्तर दिए ‘यहाँ छैन, पाइदैन, गाईघाटमा कतै पनि पाइन्न ।’


२१ वर्षीय खाईलाग्दो ठिटो पेस्तोल खोज्र्दै मिनी मार्केटका अन्य पसल पनि चाहारिरहेको खवर क्षणभरमै प्रहरीको कानमा पुग्यो । जिल्ला प्रहरी प्रमुख एसपी ज्ञानेन्द्र फुयालले तत्काल विशेष मोवाईल टोली गठन गरेर परिचालन गरिहाले ।  ठिटा केही बेरमै पक्राउ परे । जिल्ला प्रहरी कार्यालय लगेर उनीमाथ केरकार सुरु गर्दा पत्ता लाग्यो कि उनी ५÷७ दिनयता गाईघाटमै बस्दै आएका छन् । 

 

पक्राउ पर्ने ठिटा हुन् स्थायी घर खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १० पाथेकाका सुजन गिरी । प्रहरीमा दिएको बयान अनुसार उनी पाथेकाका वीरबहादुर गिरीका छोरा हुन् । बजारको मेलिना होटलको एउटा कोठा लिएर बस्दै आएको भन्ने खुलेपछि प्रहरीे उनको कोठामा छापा मार्ने योजना बनायो । सोमबार दिउँसो उनी बस्ने होटलको कोठामा छापा मार्दा प्रहरी थप चकित भयो । 


खानतलासीको क्रममा उनको कोठाबाट युरोपियन मुदू्रा (युरो), अमेरिकन डलर, भारतीय रुपैँया (भारु) र नेपाली रुपैँया (नेरु) सहित बिभिन्न सुन चाँदीका गहना पनि बरामद  भयो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राकेश पोदारका अनुसार उनको कोठाबाट युरो ८०, अमेरिकन डलर २ सय ९२, भारु २ लाख ५९ हजार १ सय र नेरु १ लाख ८५ हजार ४ सय १५ रुपैँया बरामद भएको छ । 


त्यसैगरी सुनजस्तो पहेँलो धातुबाट बनेको औँठी १ थान, घडी १ थान, चाँदीबाट बनेका सिक्री २ थान, चाँदीकै ब्रासलेट १ थान, इन्फ्क्सि आईटेल कम्पनीको ठूलो मोवाईल २ थान, आईप्रो किप्याड कम्पनीको मोवाईल १ थान, मोवाईल चार्ज गर्ने पावरबैंक १ थान, मूल्यवान बुद्धचित्तका ८० दाना, सानो रुद्राक्षको एउटा माला तथा दुर्लभ मानिने सि माला ४ थान बरामद भएको छ । 


अकल्पनीय समान बरामद भएपछि प्रहरीले सोधपुछलाई थप बाक्लो बनायो । सो क्रममा काठमाडौंको बौद्ध क्षेत्रबाट ती सामान चोरी गरी केहीदिनअघि मात्र यता ल्याएको भन्ने खुल्न आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राकेश पोदारले बताए । गिरीको बयानकै आधारमा प्रहरी बीट बौद्धसँग समन्वय गर्दा घट्ना यथार्थ भएको पुष्टि भएसँगै आवश्यक कारबाहीका लागि गिरीलाई उतै पठाइएको छ । सोमबार साँझै गिरीलाई बरामद नगद र चोरीका सामानसहित प्रहरी बृत्त बौद्ध काठमाडौंतर्फ पठाइएको छ ।