कटारीको ताराघारीमा हात्तीले ३ घर भत्कायो

२0७९ पुष १८ सोमबार
कटारीको ताराघारीमा हात्तीले ३ घर भत्कायो

उदयपुर, पुस १८

कटारी नगरपालिका ३ ताराघारीमा हात्तीले ३ घर भत्काएको छ । ताराघारी पछाडिको नयाँ बस्तीमा आईतबार सोमकुमार मगर, बिष्णु सापकोटा र फुलमाया परियारको घर हात्तीले भत्काएको इलाका प्रहरी कार्यालय कटारीले जाएको छ । 

 


३ वटा हात्तीको समूह आईतबार विहानदेखि गाउँ पसेको खवर आएपछि सबैलाई सतर्क रहन भन्दा भन्दै ३ घर भत्काउन पुगेको इप्रका कटारीका डिएसपी रबिन कार्कीले बताए । 


घर भत्काएको ठाउँमा सोमबार विहान नगरप्रमुख राजेशचन्द्र श्रेष्ठ र वडाध्यक्ष पुस्कर खड्कालगायत जनप्रतिनिधि पुगेर निरीक्षण गरेको छ । नयाँ बस्तीमा बाँसको टाटी बारेर बस्दै आएको छाप्रा घर राति हात्तीले भत्काएको र उनीहरुको उद्धारका लागि नगरपालिकाले पहल गरिरहेको मेयर श्रेष्ठले बताए । 


श्रेष्ठले नयाँ बस्तीका हात्ती पीडित मगर, परियार र सापकोटाको घर पुन निर्माण र राहत दिने विषयमा छलफल भईरहेको र छिट्टै नियमानुसार राहत र सहयोग उपलब्ध गराउने बताए । 


प्रमुख प्रशासकीय अधिकृत अनिल किरातीले हात्तीबाट पीडित परिवारलाई नगर बिपत व्यवस्थापन समिति र कार्यपालिका बैठकमा टुंगो लगाएर पुनर्वास र राहतको व्यवस्था मिलाइने बताए । 


डिभिजन वन कार्यालय त्रिबेणीका प्रमुख (डिएफओ) विष्णुलाल घिमिरेले ४ दिनअघि ४ दिनअघि उदयपुरगढी गाउँपालिका ७ को नवज्योति सामुदायिक वनक्षेत्रको नागबेले जंगल हुँदै नेपालटार भएर हात्ती समूह कटारी छिरेको बताए । सुरुमा कटारी ७ को बकपति, ६ को सोमबारे, ५ को भोर्ले, सुगाजोर, बलाहा हुँदै सदाबहार सामुदायिक वन समूह पसेको हात्तीले राति बिझाई गरेको खवर आएको बताए । 


डिएफओ घिमिरेका अनुसार गतवर्ष पनि यही समयमा सो रुट भएर हात्ती आएको र कटारी १ को खोक्सा हुँदै कमला नदी तरेर सिन्धुलीतर्फ गएको थियो । केही दिनपछि फर्केको हात्ती यो पटक पनि सिन्धुलीसम्म पुगेर फर्कनसक्ने भएकाले अझै ४÷५ दिनन सतर्क रहनुपर्ने बताए ।