लालपत्ताबाट लागू औषधसहित २ युवा पक्राउ

२0७९ पुष १५ शुक्रबार
लालपत्ताबाट लागू औषधसहित २ युवा पक्राउ

उदयपुर, पुस १५

सप्तरीसँग जोडिएको उदयपुरको नाका लालपत्ताबाट दुईजना युवा लागू औषधसहित बिहीबार पक्राउ परेका छन् । ‘अवैध लागू औषध नियन्त्रण गर्ने अभियान’ अन्तर्गत लालपत्ता प्रहरी चौकी र जिल्ला प्रहरीको विशेष टोलीले बिहीबार १ सय ५० एम्पुल (थान) लागू औषधसहित उनीहरुलाई पक्राउ गरेको हो । 


मधेस प्रदेशको लाहानबाट उदयपुरतर्फ आउँदै गरेको प्र २–०–००५ प १३७८ नं. को मोटरसाईकल चेकजाँच गर्दा सिराहा जिल्ला लहान नगरपालिका ३ का २६ वर्षीय वीरेन्द्रसिंह महतो र सिराहाकै बरियारपट्टी गाउँपालिका ४ का २४ वर्षीय सुरेन्द्र राय पक्राउ गरेका हुन् । 


मोटरसाईकलमा आउँदै गरेका चालक महतो र पछाडि बसेका रायमाथि शंका लागी प्रहरीले चेकजाँच गर्दा उनीहरुको साथबाट ३ प्रकारको अवैध लागू औषध फेला परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका महतो र रायको साथबाट प्रहरीले ५० एम्पुल डाईजेपाम, ५० एम्पुल फेनार्गन र ५० एम्पुल लुपिजेसिक बरामद गरेको छ । 


बरामद लागू औषध र मोटरसाईकलसहित जिल्ला प्रहरी कार्यालयमा राखिएका उनीहरुमाथि लागू औषध प्रयोग तथा कारोबार ऐन अनुसार कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राकेश पोदारले बताएका छन् । 


लालपत्ता मधेस प्रदेशबाट सबभन्दा बढी लागू औषध उदयपुर भित्रिने प्रमुख नाका हो । सदरमुकाम त्रियुगा नगरपालिका ६ नं. वडामा पर्ने सो नाका भएर सिरहाका बरियारपट्टी, ठाडी, मलहनियाबाट र सप्तरीका भारदह, राजविराज र भारदह नाका भएर भारतीय बजारबाट लागू औषध गाईघाट भित्रिने गरेको प्रहरीको दावी छ ।