१
२0७९ पुष ९ शनिबारउदयपुर, पुस ९
गाईघाटमा भईरहेको ‘खाना परिकार मेला तथा लाखे नाच प्रतियोगिता ०७९’ को अवसरमा शनिबार लाखे नाच प्रतिस्पर्धा आयोजना गरिदैछ । मेला सुरु भएको छैठौँ दिन १ नं. प्रदेशका बिभिन्न १२ वटा लाखे समूहको प्रतिस्पर्धा भईरहेको मेला आयोजक झिगु नेःवा पुचः त्रियुगा नगर कमिटीले जनाएको छ ।
प्रतियोगितामा उदयपुरका गाईघाट र कटारी तथा खोटाङ, ओखलढुंगा, संखुवासभा, इलाम, झापा, मोरङ र सुनसरीका लाखे समूहको सहभागिता रहेको आयोजक नेवाः पुचःका सचिव गोपाल श्रेष्ठले बताए । उनका अनुसार उत्कृष्ट लाखे नाच्ने समूहले १ लाख १ हजार नगद र ट्रफि तथा प्रमाणपत्रसहित प्रथम पुरस्कार पाउनेछ । प्रथम पुरस्कारको प्रायोजन त्रियुगा नगरप्रमुख बसन्त बस्नेतले गरेका छन् ।
त्यसैगरी कटारी नगरप्रमु्ख राजेशचन्द्र श्रेष्ठको प्रायोजनमा दिइने दोस्रो पुरस्कारको राशी ७५ हजार १ रुपैँया नगद रहेको छ । ५१ हजार १ रुपैँयाको तेस्रो पुरस्कारको प्रायोजन त्रियुगा नगर उपप्रमुख महेश्वरी राईले गरेिकी छिन् भने ११ हजार १ रुपैँयाको सान्त्वना पुरस्कार तिलकबहादुर श्रेष्ठले प्रायोजन गरेका छन् ।
शनिबार विहान सुरु हुनुअघि सहभागी प्रतियोगीहरुले गाईघाट बजारमा लाखे नाच प्रदर्शन गरेका थिए । गएको ४ गतेदेखि सुरु खाना परिकार मेलामा हरेक साँझ खुल्ला तथा प्रतियोगितात्मक नृत्य कार्यक्रम हुने गरेको छ । बिहीबार साँझ आयोजकले ‘नेःवा छमछमी सिजन ४’ प्रतियोगिता सम्पन्न गरेको छ ।
भोलि १० गते आईतबार मेला समापनको अवसरमा विजयी सहभागीहरुलाई पुरस्कार तथा प्रमाणपत्र बितरण गर्ने कार्यक्रम रहेको पुचःका अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठले बताए । पछिल्ला केहीदिनयता मेलामा बाक्लो जमघट हुन थालेको छ ।
मेलामा मुख्यगरी नेवारी, किराती राई, दनुवार, मगर, थारुलगायत समुदायको परम्परागत खानाका परिकारहरु प्रदर्शन र बिक्री बितरण गर्ने स्टल राखिएका छन् । दुई दर्जन स्टलहरु साँझदेखि राति ९ः०० बजेसम्म खचाखच भरिने गरेको आयोजकले जनाएको छ ।
मेलाले स्थानीय व्यापार व्यवसाय बढाउनुका साथै आन्तरिक पर्यटनको विकास गर्न योगदान पुर्याएको तथा स्वरोजगार बन्ने मौका दिएको आयोजक संस्थाले जनाएको छ ।