गाईाघाटमा सुरु भयो खाना महोत्सव र लाखे नाच प्रतियोगिता

२0७९ पुष ४ सोमबार
गाईाघाटमा सुरु भयो खाना महोत्सव र लाखे नाच प्रतियोगिता

उदयपुर, पुस ४

उदयपुर सदरमुकाम गाईघाटमा सोमबारदेखि खाना महोत्सव तथा लाखे नाच प्रतियोगिता सुरु भएको छ । स्थानीय लोकतान्त्रिक चोक दक्षिणतर्फ मुल सडकमै आयोजना गरिएको ‘दोस्रो उदयपुर खाना परिकार महोत्सव तथा प्रदेश १ स्तरीय लाखे नाँच प्रतियोगिता ०७९’ आउँदो १० गतेसम्म चल्ने छ । 

 

झिगु नेःवा पुचः त्रियुगा नगर समितिको आयोजनामा सुरु महोत्सवको उद्घाटन गर्नुअघि बिभिन्न आदिवासी समुदायले जातीय तथा सांस्कृतिक झाँकीसहित गाईघाट बजार परिक्रमा गरेका थिए । बजार परिक्रमापछि प्रदेश १ का सडक तथा सहरी विकास मन्त्री हिमाल कार्कीले महोत्सवको उद्घाटन गरे । उद्घाटन गर्दै मन्त्री कार्कीले बिभिन्न जातजातिको भाषा, धर्म, संस्कार र संस्कृति बचाउने उदेश्यले आयोजित महोत्सवको सफलताको कामना गरे । उनले सबै जातजाति र धर्मावलम्बीको परम्परा, संस्कार र संस्कृति बचाउनु राज्यको कर्तव्य भएको बताउँदै यले उदयपुरको पहिचान स्थापित गर्ने अपेक्षा गरेको बताए । 

 

 



खाना परिकारसँगै लाखे नाच प्रतियोगिताले लोप हुदै गएको धर्म, संस्कार र संकृतिको जगेर्ना गर्नुका साथै पर्यटन विकास र स्थानीय व्यापार व्यवसाय प्रबद्र्धन हुने कार्कीले बताए । महोत्सवले जिल्लामा आन्तरिक तथा वाह्य पर्यटकको आगमन बढाउने  भएकाले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरत दिन आग्रह गर्दै उनले प्रदेश सरकारबाट सक्दो सहयोग गर्न आफु तयार रहेको बताए । 

 

नेकपा (एमाले) उदयपुरका अध्यक्ष प्रमेश घिमिरे, नेपाली कांग्रेसका उपसभापति भिमचन्द्र राई, त्रियुगा ११ का वडाध्यक्ष सुमन्त कोइराला, नेवाः दय दवुका केन्द्रीय सदस्य तिलक श्रेष्ठ, दवु उदयपुरका अध्यक्ष गौरीशंकर उदासलगायतले पनि महोत्सव सफलताको शुभकामना मन्तव्य दिए । 

 

महोत्सवकै अवसर पारेर नेवारी प्रतिभाको खोजी गर्न ‘नेवाः छमछमी सिजन–३’ छनौट गरिने नेःवा पुच गाईघाटका सचिव गोपाल श्रेष्ठले बताए । उनका अनुसार महोत्सवको अन्त्यतिर ९ गते प्रदेशस्तरीय लाखे नाँच प्रतियोगिता हुनेछ । जसको बिजेतालाई १ लाख नगद र प्रमाणपत्रको व्यवस्था गरिएको छ । उपबिजेताले ७५ हजार, तेस्रो स्थान ल्याउनेले ५१ हजार र सान्त्वनाले २१ हजार नगद पुरस्कार पाउने श्रेष्ठले बताए । 


 


महोत्सवमा विभिन्न खाना परिकारका स्टलहरु प्रदर्शनी तथा बिक्रीका लागि राखिएको छ । नेवारी, राई, थारु, दनुवार, तामाङलगायत समुदायगत र नेपाली खानाका परिकारहरु स्थानीय होटल व्यवसायीहरुले प्रदर्शनी र बिक्रीका लागि राखेका छन् । 

 

लाखे नाच प्रतियोगितामा भाग लिन प्रदेश नम्बर १ का १४ वटै जिल्लालाई आमन्त्रण गरिएको भए पनि अहिलेसम्म आधादर्जनले मात्र सहभागिता जनाउने निश्चित भएको छ । अझै समय बाँकी भएकाले अन्य जिल्लाबबाट पनि सहभागीहरु थपिन सक्ने श्रेष्ठको अनुमान छ । 

 

 

पुचःका अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठका अनुसार उदयपुरमा पहिलो खाना महोत्सव २०७५ सालमा आयोजना गरिएको थियो । जिल्ला होटल व्यवसायी संघ र पुचःले संयुक्त आयोजनामा त्यसबेला महोत्सव आयोजना गरेका थिए । तर, सोही वर्ष विश्व महामारी कोविड आईपरेपछि महोत्सव हु्न सकेको थिएन । यसपटक पुचः एक्लैले महोत्सव आयोजना गरेको अध्यक्ष श्रेष्ठले बताए । 


महोत्सवको सहआयोजक त्रियुगा नगरपालिका ११ रहेको छ भने प्रायोजक गोर्खा ब्रअरी र सप्तकोसी सिमेन्ट रहेको अध्यक्ष श्रेष्ठले बताएका छन् ।