नेपाल पत्रकार महासंघ उदयपुरको साधारणसभा सम्पन्न

२0७९ पुष ३ आईतवार
नेपाल पत्रकार महासंघ उदयपुरको साधारणसभा सम्पन्न

उदपुर, पुस ३

नेपाल पत्रकार महासंघ शाखा उदयपुरको साधारणसभा आईतबार सम्पन्न भएको छ । सदरमुकाम गाईघाटमा आयोजित १२ औं साधरणसभा पत्रकार हकहितमा केन्द्रित हुँदै व्यवसायिक प्रतिबद्धता तथा पेशागत ऐक्यबद्धता जनाउँदै सम्पन्न भएको हो । 

 


साधारणसभामा महासंघका केन्द्रीय सदस्यद्वय भिषण राई र अमर खड्का, प्रदेश १ समिति अध्यक्ष लिलाबल्लभ घिमिरे, उपाध्यक्ष हिमा चेमजोङ, सचिव देवेन्द्र कार्की, सदस्यहरु गोपाल पोखरेल र यमन दनुवारको आतिथ्य रहेको थियो । महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष वरिष्ट पत्रकार कौशल चेमजोङ, संस्थापक बद्री काफ्ले, पूर्व अध्यक्षहरु श्याम राई, इश्वर तामाङ, महेश्वर चामलिङ, सल्लाहकारहरु र साधारण सदस्यहरुको उपस्थिति थियो । 

 


कार्यक्रममा बोल्दै अतिथिहरुले पछिल्लो समय विद्युतीय अपराध ऐन (साईबरक्राईम)को नाममा पत्रकारमाथि राज्य निर्मम बन्दै गएको पाइएकाले त्यसप्रति सजग हुन आग्रह गरेका थिए । वक्ताहरुले पत्रकारलाई कारबाही गर्ने सञ्चद्धार ऐन बने पन जारी हुन बाँकी रहे पनि पत्रकारका लागि नबनेको साईबरक्राईमकै डण्डा लगाएर पत्रकारमाथि प्रहार गर्ने काम भईरहेकाले त्यस्ता कदम बन्द गर्न आग्रह गरे । 

 


सञ्चार ऐन नबनेको अवस्थामा पत्रकारलाई कारबाही तथा नियमन गर्ने अद्र्धन्यायिक निकाय प्रेस काउन्सिल नेपाल भए पनि प्रहरीले काउन्सिललाई पन्छाएर आफु अग्रसर भएर बिभिन्न आरोपको बहानामा कारबाही गर्ने नाममा दुःख दिने काम बन्द गर्न आग्रह गरेका थिए । 

 


संस्था पत्रकारलाई लक्षित गरी साईबरक्राईम ऐन कार्यान्वयन गर्दा निहत्था पत्रकारहरु पीडित हुनु परेको भन्दै त्यस्तो कदम तत्काल बन्द गर्न वक्ताहरुले सरकारको ध्यानाकर्षण गराएका थिए । विहान १०ः०० बजेदेखि सुरु भएको साधारणसभाले पत्रकारहरुको पेशागत हक अधिकार र व्यवसायिक एकताप्रति प्रतिबद्धता जनाउँदै गाईघाट घोषणापत्र जारी गरेको छ । 

 


कार्यक्रममा शाखाले साधारणसभाका अतिथि तथा महासंघका भगिनी संघ, संगठनका प्रमुख तथा पूर्व अध्यक्षहरुलाई मायाको चिनो र कौशल चेमजोङद्रा लिखित ‘उदयपुरको इतिहास’ नामक पुस्तक उपहार प्रदान गरेको थियो ।