फोक्सिन्टार पुल अन्तिम चरणमा 

२0७९ पुष २ शनिबार
फोक्सिन्टार पुल अन्तिम चरणमा 

उदयपुर, पुस २

१० वर्षअघि निर्मांण सुरु भएको उदयपुर र खोटाङबीचको फोक्सिन्टारस्थित सुनकोसीमा निर्माणाधीन पक्की पुल अव भने सकिन लागेको छ । उदयपुर र खोटाङबीच सोझो यातायात सम्पर्कका लागि निर्माणाधीन ‘पुल यही पुस पहिलो साताभित्र सञ्चालन गर्ने गरी निर्माण सकिन लागेको हो । 

 


गाईघाट–दिक्तेल सगरमाथा लोकमार्ग’ अन्तर्गत निर्माण भईरहेको पुलको काम ९० प्रतिशत सकिएको छ । बाँकी १० प्रतिशत काम सकिन सातादिनजत्ति लाग्ने निर्माण कम्पनी गौरी पार्वती–वाईपी जेभीका इन्जिनियर सुमन खड्काले बताए । 


खड्काका अनुसार अहिले पुलको माथिल्लो सतहको ढलान र रेलिङ तथा एप्रोज लगायत अन्य ससाना कामहरु भईरहेको छ । सो काम पनि केहीदिनभित्र सकिने छ भने एप्रोच सडकको ढलान गर्ने काम सुरु हुने छ । ढलान सकिएपछि पुल सञ्चालनमा ल्याउन मिल्ने खड्काले बताए । 

 


माथिल्लो सतहको ढलान सकिएको ५ दिनपछि गाडी आउजाउ गर्न दिइने इन्जिनियर खड्काले बताए । अहिले पनि मोटरसाईकलहरु भने आउजाउ गर्न थालिसकेको छ । 


जेवीले सो पुल २०६९ चैत २३ गते सम्झौता गरेर ०७३ चैत २२ गते निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख थियो । तर, बिभिन्न कारण देखाउँदै निर्माण कम्पनीले ढिला गरेपछि गाईघाट–दिक्तेल लोकमार्गमा आउजाउ गर्न असहज भएको भन्दै चौतर्फीं आलोचना भएको थियो । 

 


आर्क ब्रिज डिजाईनमा १ सय २० मिटर लामो र ११ मिटर चौडाई तथा पैदल यात्रा गर्न मिल्ने खालको छ । पुल ९ करोड ६० लाख ९ हजार ९ सय ४१ रुपैयाँ लगानीमा निर्माण गर्ने जिम्मा ठेकेदारले लिएको हो । 

 

फोक्सिन्टारमा पुल बनेपछि वर्षेनी लगाइदै आएको बेलिब्रीज यो वर्षदेखि लगाउन छाडिएको छ । बर्षेनि झण्डै १ करोड हाराहारी रकम खर्च गरेर  लगाउने र भत्काउने गर्नु परेको बेलिब्रीज पक्की पुल बन्ने भएपछि यो वर्षदेखि लगाउन छाडिएको गाईघाट दिक्तेल सडक कार्यालय प्रमुख (डिई) गोपाल खकुरेले बताए । 

 


उनका अनुसार विगत वर्षहरूमा यति बेलासम्म बेलिब्रीज जडान भइसक्थ्यो। यस वर्ष पुल बनिसक्ने भएपछि सडक विभागले बेलिब्रीज नलगाउन निर्देशन दिए अनुसार नलगाइको खकुरेलले बताए। 

उदयपुरतर्फ रौतामाई गाउँपालिका ५ र खोटाङतर्फ खोटेहाङ गाउँपालिका ३ लिच्कीराम्चेको सीमास्थलमा पर्ने पुल बनेपछि गाईघाटदेखि दिक्तेलसम्म सोझो यातायात सञ्चालन गर्न सहज हुने छ । रौतामाई ५ का वडाध्यक्ष पाण्डव राईले अव पुल लगभग सकिन लागेकाले छिट्टै सञ्चालनमा आउने आसा पलाएको बताए । 

 


उनका अनुसार दशकअघि निर्माण सुरु भएको पुल ठेकेदार कम्पनीको चरम लापरबाहीका कारण ढिला हुँदा एकातिर राज्यको करोडौँ बजेट बेलिब्रीजमा खर्च हुन्थ्यो भने अर्कातिर दुई जिल्लावासी यात्रु सकस बेहोर्न बाधय थिए ।