चुनाव जितेपछि डा. खड्का पहिलो सार्वजनिक कार्यक्रममा

२0७९ मंसिर २९ बिहीबार
चुनाव जितेपछि डा. खड्का पहिलो सार्वजनिक कार्यक्रममा

उदयपुर, मंसिर २८


परराष्ट्रमन्त्री डा. नारायण खड्काले स्तन क्यान्सर महिलाहरुको अकाल मृत्युको प्रमुख कारणमध्ये एक भएको बताएका छन् । बुधबार गाईघाटमा आयोजित ‘महिला स्वास्थ्य स्कृनिङ तथा स्तन क्यान्सर चेतना स्वास्थ्य शिविर’को उद्घाटन गर्दै मन्त्री खड्काले सामान्य गल्तीका कारण हुने स्तन क्यान्सरले महिलाहरु थाहै नपाई अकाल मृत्युको मुखमा पुग्ने भएकाले त्यसप्रति सचेत रहन आग्रह गरे । 

 


त्रियुगा नगरपालिका ११ र गैर नेपाली आवासीय संघ (एनआरएनए) जेसिसको संयृुक्त आयोजनामा भएको शिविरको उद्घाटन क्रममा डा. खड्काले अमेरिका बस्दै आएका एनआरएनए जेसिसको सक्रियतामा शिविर आयोजना भएकोमा खुसी व्यक्त गरे । उनले अमेरिकाका एनआरएनए पदाधिकारी डा. सन्दीप सापकोटालगायत स्वास्थ्यकर्मी र जेसिस टोली स्वयं उदयपुर आएर आफ्नो निर्वाचन क्षेत्रमा शिविर आयोजना गरिदिएकोमा  धन्यबाद दिए । 


उदयपुर १ बाट ४ पटक लगातार चुनाव जितिसकेका डा. खड्काले आफुलाई विजयी गराउने सबै निर्वाचनक्षेत्रबासी मतदातालाई सोही कार्यक्रममार्फत धन्यबाद पनि दिए । मंसिर ४ गतेको चुनावमा विजयी भएपश्चात पहिलो पटक गृहजिल्लाको सार्वजनिक कार्यक्रममा देखा परेका डा. खड्काले आफु सँधै विकास निर्माण र जनताको सेवामा तल्लिन रहेकैले लगातार चौथो पटक जिताएर पठाएको बताए । 

 


जनताले विश्वास गरेर चुनाव जिताई पठाए अनुसार काम पनि लगातार गर्दै आएको उनको भनाई थियो । पछिल्लो मत परिणाममा विजयी भएपछि राजधानी फर्केलगत्तै जनताको काम गर्न थालिसकेको उनको भनाई थियो । उदयपुरमा सडक, खानेपानी, पुल र विमानस्थलको काममा आफु लगातार लागिसकेको भन्दै डा. खड्काले मेरो निर्वाचन क्षेत्रमा बन्न लागेको ‘सगरमाथा बिमानस्थल’ छिटोभन्दा छिटो सक्ने प्रयत्न गरिरहेको बताए । 


‘म आज विहान हुने कार्यक्रममा आउन सबेरै हिडेको थिएँ, तर, बिराटनगर एयरपोर्टमा हुस्सु लागेका कारण १ घण्टा कुर्नु पर्यो’ उदयपुरमा निर्माणाधीन विमानस्थलबारे उनले भने ‘उदयपुरमा एयरपोर्ट भएको भए म अघि नै यहाँ आईपुग्थेँ, किन भने उदयपुरमा हुस्सु लाग्दैन ।’ उनले एयरपोर्ट र अन्य कुनै पनि विकास निर्माणको काममा बजेट अभाव हुन नदिने वाचा पनि गरे । 

 


शिविरमा सहभागी एनआरएनए जेसिसका डा. सन्दीप सापकोटाले स्तन क्यान्सर महिलाका लागि अभिसाप बन्दै आएको भन्दै यसबाट बँच्न नियमित स्वास्थ्य जाँच गर्नुपर्ने बताए । ‘समयमै होस पुर्याएमा, नियमित स्वास्थ्य परीक्षण गर्ने गरेमा स्तन क्यान्सर हुनबाट बँच्न सकिन्छ’ डा. सापकोटाले भने ‘तर, सामान्य हेलचेक्र्याई गर्दा पनि यो रोग लाग्ने खतरा रहेको र यसले थाहै नपाई मृत्युको मुखमा पुर्याउने गरेको छ ।’ उनले स्तन क्यान्सर हुने लक्षणबारे चिकित्सकसँग परामर्श लिएर, स्वास्थ्य जाँच गरेर मात्र नभई महिला स्वयंले पनि आफ्नो जाँच गर्न सक्ने बताए । 


त्रियुगा ११ का वडाध्यक्ष सुमन्त कोईरालाले डा. नारायण खड्काजस्तो सांसद र मन्त्री पाएकाले उदयपुरले विकास निर्माणमा धेरै फड्को मार्न सफल भएको बताए । उनले मंसिर ४ गतेको चुनावभन्दा २ महिनाअघि नै तय भएको शिविर आचारसंहिता लागू भएको र चुनावी मसला बन्छ भन्ने आरोपबाट बँच्न त्यसबेला नगरिएको बताए । वडाध्यक्ष कोईरालाले त्रियुगा नमूना माविलाई यसअघि नै एउटा स्कुल बसको व्यवस्था गरिदिएकोमा मन्त्री खड्कालाई धन्यबाद दिदै एउटा मात्र बसले नपुग्ने भएकाले अर्को बस थपिदिन पनि आग्रह गरेका थिए ।  


विहान १०ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म सञ्चालित शिविरमा ४ सय ५४ जनाले स्वास्थ्य परीक्षण गरेको उदयपुर जेसिसकी सबु थापाले बताईन् । उनका अनुसार शिविरमा स्वास्थ्य परीक्षण गर्नेमा पुरुषभन्दा महिलाको संख्या बढी थियो । स्वास्थ्य जाँचका लागि आएकाहरुलाई आवश्यक परामर्श र औषधि निशूल्क बितरणसमेत गरेको जेसिस उदयपुरका अध्यक्ष अनुप ढुंगानाले बताए ।