त्रियुगाको सार्वजनिक सुनुवाई बुधबार

२0७९ मंसिर २७ मंगलवार
त्रियुगाको सार्वजनिक सुनुवाई बुधबार

उदयपुर, मंसिर २७

सदरमुकाम त्रियुगा नगरपालिकाले चालु आर्थिवर्षको पहिलो चौमाशिकको सार्वजनिक सुनुवाई गर्ने तयारी पुरा गरेको छ । नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम जिल्ला समन्वय समितिको सभाकक्षमा बुधबार गर्ने जनाएको छ । 

 

 

सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी हुन बिभिन्न सरोकारवाला व्यक्तिदेखि सर्वसाधारण नगरबासीसम्मलाई बोलाइएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वनले बताए । चालु आर्थिकवर्ष सुरुको महिना साउनदेखि कात्तिक मसान्तसम्म भएका आर्थिक, भौतिक पूर्वाधार, सामाजिक, संस्थागत, न्यायिक र विपत व्यवस्थापन लगायत सबै गतिबिधिको सार्वजनिक गरिनेछ । 

 

त्यस्तै नगरपालिकामा काम लिन आएका सेवाग्राहीहरुलाई पाएको सेवामा सन्तुष्टि असन्तुष्टि, कठिनाई वा सहज के कस्तो भयो भन्नेबारे लिखित टिप्पणी पनि प्रस्तुत गरिने छ । सार्वजनिक सुनुवाईका लागि २ दिनअघिदेखि नै नगरपालिका परिसरमा एउटा डेस्क खडा गरेर थालिएको सेवाग्राहीहरुको लिखित प्रतिक्रिया लिने काम सकिएको छ । 

 

सार्वजनिक सुनुवाईमा नगरपालिकालाई प्राप्त हुने संघ, प्रदेश र आन्तरिक आम्दानी, खर्च र त्यसबाट भए गरेका कृयाकलापको फेहरिस्त पनि प्रस्तुत गरिने हाकिम वनले बताएका छन् । सुशासनका लागि सबभन्दा महत्वपूर्ण मानिएको आर्थिक पारदर्शिता कायम गर्न सार्वजनिक सुनुवाई गर्न लागिएको उनले बताए । 

 

पहिलो चौमाशिकको सार्वजनिक गर्न लागेको त्रियुगाले बाँकी २ चौमाशिकको पनि समयमै गर्ने जनाएको छ ।