पत्रकार राई रिहा 

२0७९ मंसिर २३ शुक्रबार
पत्रकार राई रिहा 

उदयपुर, मंसिर २३


उदयपुरका पत्रकार गजेन्द्र राई रिहा भएका छन् । आफै सञ्चालक रहेको निगरानी पोष्ट डटकममा उदयपुरका नातामा ससुरा बुहारीबीच सम्बन्धबारे भिडियो सामग्री प्रशारण गरेको अभियोगमा साईबरक्राईम मुद्धामा पक्राउ राई शुक्रबार सामान्य धरौटीमा रिहा भएका हुन् । 

 

 


झण्डै दुईसाताअघि उनलाई उदयपुर प्रहरीले रिपोर्टिङकै सिलसिलामा पक्राउ गरेर साईबर व्युरो काठमाडौँ पठाएको थियो । जिल्ला अदालत काठमाडौंले शुक्रबार विहानको इजलासले ५० हजार धरौटी लिएर राईलाई रिहा गर्ने आदेश दिएको नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य राजेश चामलिङले बताए । 


समाचार लेखेकै विषयमा साईबरक्राईम मुद्धा लगाएको बिरोधमा उदयपुरलगायत देशभरका पत्रकार आन्दोलित भएका थिए । नेपाल पत्रकार महासंघ उदपयुर, प्रदेश महासंघलगायत प्रदेश १ का १४ वटै जिल्ला शाखाले पत्रकार राईलाई बिनाशर्त रिहा गर्न माग गर्दै गृहमन्त्रालयलाई ध्यानाकर्षणपत्र बुझाएका थिए । 


३ दिनको अल्टिमेटम दिएर ध्यानाकर्षण बुझाउँदा पनि रिहा नगरेको भन्दै महासंघ शाखाहरुले कालो पट्टी बाँधेर रिपोर्टिङ गर्दै बिरोधलाई निरन्तरता दिन थालेका थिए । पत्रकार राईलाई रिहा गरेपछि हाललाई सबै आन्दोलन स्थगित गरिएको महासंघले जनाएकोे छ । 

 


राईको मुद्धा प्रहरीले नभई प्रेस काउन्सिल नेपालको अधिकारक्षेत्रभित्र पर्ने भन्दै नेपाल पत्रकार महासंघ केन्द्रीय अध्यक्ष बिपुल पोखरेल, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, प्रेस सेन्टर अध्यक्ष बिष्णु सापकोटा, आदिवासी जनजाति पत्रकार महासंघ अध्यक्ष गजुरधन राई, किरात राई पत्रकार संघका अध्यक्ष अवतार राईलगायत सञ्चारकर्मी आवबद्ध युनियनहरुले सरकारको ध्यानाकर्षंण गराएका छन् । 

 

 

रेडियो नेपालका उदयपुर संबाददाता, प्रेस सेन्टरका प्रदेश सचिव, फोटो पत्रकार महासंघका निबर्तमान अध्यक्ष तथा नेपाल पत्रकार महासंघ उदयपुरका निवर्तमान सहसचिवसमेत रहेका राईलाई महासंघका पूर्व केन्द्रीय सदस्य चामलिङ नेतृत्वको टोलीले प्रहरी प्रधान कार्यालयमै पुगेर स्वागत गर्दै बुझेर ल्याएको छ ।