साकेला उधौली सुरु  (फोटो फिचर)

२0७९ मंसिर २२ बिहीबार
साकेला उधौली सुरु  (फोटो फिचर)

उदयपुर, मंसिर २२


आजदेखि ‘साकेला उधौली (छिरिनाम) ५०७९’ चाड सुरु भएको छ । किराती समुदायको दोस्रो ठूलो चाड मानिने यस चाड अन्य ठाउँजस्तै उदयपुरमा पनि धुमधामसँग सुरु भएको छ । 


छिरिनामको स्वागतमा किरात राई यायोक्खाले गाईघाट साकेलाथानमा सामुहिक चुला पुजा, शिकारी पुजा गरी साकेला सिली नाचेर औपचारिक प्रारम्भ गरेको छ । साकेलास्थानमा भेला भएका किरात अगुवा, भद्र भलाद्मी, जनप्रतिनिधि, कर्मचारी, पत्रकार र सर्वसाधारणले सामुहिक पुजा गर्दै पितृको स्मरण गरे । 


पुजाको प्रसाद ग्रहणपछि शुभकामना आदान प्रदान कार्यक्रम गर्दै सामुहिक सिली नृत्य कार्यक्रम सम्पन्न भएको किरात राई यायोक्खा उदयपुरकी अध्यक्ष गंगा राईले बताईन् । उनका अनुसार त्रियुगा नगरपालिकाका १६ वटै वडामा आज एकैचोटी छिरिनाम मनाउन थालिएको छ । जस अनुसार गाईघाट, बोक्से, मोतिगडा, देउरी, बगाहा, दमौटी, श्रीपुृर, साउने, खाँबु, चिलाउने, भोर्ले र जोगीदहमा बेग्लाबेग्लै कार्यक्रम गरी छिरिनाम मनाइएको छ । 


त्यसैगरी कटारी, बेलका, चौदण्डीगढी, ताप्ली, उदयपुरगढी, रौतामाई र लिमचुङबुङका सबै वडामा छिरिनाम मनाउन थालिएको अध्यक्ष राईले बताईन् । छिरिनामको अवसरमा बेलकाका रामपुर, मैनामैनी, कोठु, भासी, टप्पु, बानडाँडा, बबलामा पनि भव्यरुपमा उधौली सुरु भएको छ । 


त्यस्तै चौदण्डीगढीका बेलटार, सिद्धिपुर, बसाहा, सुन्दरपुर, हडिया, चौदण्डी, वीरेन्द्र बजारलगायत ठाउँमा उधौली मनाइदै छ । भने कटारीको कटारीस्थ्ति यायोक्खा पार्कमा औपचारिक कार्यक्रम गरी उधौली मनाइएको छ । कोविडका कारण विगत ३ वर्षदेखि मान्न नपाइएको उधौली यसवर्ष भव्य रुपले देशभर मनाउने कार्यक्रम रहेको यायोक्खाले जनाएको छ । 


किराती समुदायको आफ्नै शैली, परम्परा, भाषा, संस्कृति, रितिरिवाज र सभ्यता रहेको छ । विश्वमा भएका मानव सभ्यतामध्ये सबभन्दा पुरानो र वैज्ञानिक सभ्यता किराती समुदायको रहेको उनीहरुको दावी छ । किरात संवत यलम्बर युग प्रथम किराती राजा यलेहाङले चलाएको संबत हो भन्ने विश्वास गर्ने यो समुदाय नेपालमा प्रचलित बिक्रम आदित्यकालीन नेपाली संबतभन्दा ३००३ वर्षले अगाडि रहेको छ । 


हाल ५०८२ चलिरहेको किरात संबत हरेक माघमा सुरु भएर पुसमा अन्त्य हुने गर्दछ । आउँदो माघदेखि किरात संबत ५०८३ सुरु हुन गईरहेको छ, त्यसैले यो अन्य समुदायको सभ्यताभन्दा किरात संबत प्राचिन सभ्यता मानिएको अगुवा किराती बेत्ताहरु बताउँछन् । 


नेपालमा महिशपाल बंशलाई पराजित गरी झण्डै २९ सय वर्ष शासन गरेको किराती राजा यलम्बरका सन्तानलाई ३५ पुस्तापछि लिच्छवी राजाले हराएर शासन हातमा लिएका हु्न् । अहिलेसम्मको राजतन्त्रमध्ये सबभन्दा लामो समय शासन गरेको किरातीकाल पृथ्वीनारायण शाहको राज्य एकीकरणपछि समाप्त भएको हो । 

 

पृथ्वीनारायणकालसम्म भुरे टाकुरे राज्य शासनमै रहेको किराती शासन सुरुवात राजा येलम्बरकालदेखि गणना गर्दा ५०८२ वर्ष पुगेको इतिहासकारहरु बताउँछन् । लिच्छबी बंशले राज्य खोसेपछि यलेखिम (काठमाडौँ) बाट भागेका किरातीहरु बनेपा, रामेछाप, दोलखा, ओखलढुंगा, खोटाङ, भोजपुर हुँदै पूर्वीभेग आएर ससाना राज्य रजौटा चलाएर बसेका थिए । जसलाई वल्लो किरात, पल्लो किरात र माझ किरात भनिन्थ्यो । एकीकरणको क्रममा पृथ्वीनारायण शाहले उनीहरुलाई परास्त गरेर सत्ताबिहीन बनाएपछि पनि सरकारी कामकाज भने वल्लो, पल्लो र माझ किरातको नामबाटै प्रचलनमा थियो । 


राणा शासनकालसम्म व्यापक रहेको सो प्रचलन ००७ सालको बहुदलीय व्यवस्थासम्म पनि कायम थियो । तत्कालीन राजा महेन्द्रले ०१७ सालमा प्रजातन्त्रमाथि ‘कु’ गरेर पञ्चायत स्थापना गरेपछि भने बिस्तारै त्यो प्रचलन हराउँदै गएको मानवशास्त्री डा. कैलाश राई बताउँछन् । पञ्चायतकालमै जनमत संग्रहपछि लागू भएको ७५ जिल्ला र ५ विकास क्षेत्रको कार्यान्वयनले भने वल्लो, पल्लो र माझ किरातबाट सरकारी कामकाज हटाएको डा. राईको भनाई छ ।

 

फोटो फिचर