ओखलढुंगा प्रहरीले पायो नयाँ भवन

२0७९ मंसिर १९ सोमबार
ओखलढुंगा  प्रहरीले  पायो नयाँ भवन

ओखलढुंगा, मंसिर १९ 

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले नयाँ भवन पाएको छ । नवनिर्मित कार्यालय भवन सोमबार प्रहरी महानिरीक्षक (आईजिपी) धिरज प्रताप सिंहले उद्घाटन गरेसँगै औपचारिक रुपमा प्रयोगमा आएको छ । 


जिल्ला प्रहरी कार्यालय ओखलढुंगा परिसरमा आयोजित एक कार्यक्रममा आईजिपी सिंहले उद्घाटन गरेका हुन् । प्रहरी परिसरमा कार्यालय भवनसँगै, जवान ब्यारेक, हिरासत कक्ष, कार्यालय प्रमुख निवास, सिनियर प्रहरी अधिकृत आवासलगायत भवन बनेका छन् ।


भवन उद्घाटन गर्दै आईजिपी सिंहले प्रहरी संगठनलाई मजबुत, सक्रिय र जनमैत्री बनाउन नवनिर्मित भौतिक संरचनाको ठूलो भूमिका हुने बताए ।  नवनिर्मित भवनले जिल्लामा कार्यरत सकल दर्जाका प्रहरी कर्मचारीहरुको अव्यक्त पीडाको अन्त्य हुने विश्वास गर्दै उनीहरुलाई थप हौसला मिल्ने अपेक्षा पनि आईजिपी सिंहले लिए । 


उनले भवनलगयत भौतिक संरचना निर्माण भएपछि प्रहरी कर्मचारीहरूको कार्यसम्पादनस्तरमा पनि सकारात्मक प्रभाव पार्ने बताए । भवन निर्माणमा योगदान दिने व्यक्तिहरुलाई सम्मानपत्र प्रदान गर्दै आईजिपी सिंहले  प्रहरी संगठन देश र जनताप्रति प्रतिबद्ध भएको एक व्यवसायिक निकाय भएकाले हमेशा, शान्ति सुरक्षा र अमन चयन कायम गर्ने कार्यमा लाग्दै आएको र सँधै लागिरहने बताए । 


कार्यक्रमलाई १ नम्वर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिईआईजी) सुदिप गिरीले प्रहरीलाई सुबिधा सम्पन्न भवन प्राप्त भएपछि थप जोश, जाँगर र उर्जाका साथ जनताको सेवामा खट्न सहज हुने बताए । आम नागरिकमा आईपर्ने समस्या समाधनका लागि अहोरात्र खट्ने प्रहरी जनशक्तिलाई भौतिक संरचनायुक्त बनाउदा व्यवसायिकतामाथि बल पुग्ने उनको बुझाई थियो । 


उनले जनतासँग शिष्ट र नम्र भएर नागरिकमैत्री प्रहरी सेवा प्रवाह गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशनात्मक आग्रह गरे । नवनिर्मित भवन १० करोड १० लाख ४४ हजार ९१ रुपैया ८१ पैसाको कुल लागतमा निर्माण कार्य सम्पन्न भएको प्रदेश प्रहरी प्रवक्ता एसपी नविनराज राईले बताएका छन् ।