डा. खड्काको चौथो संसदीय यात्रा 

२0७९ मंसिर १३ मंगलवार
डा. खड्काको चौथो संसदीय यात्रा 

उदयपुर, मंसिर १३

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. नारायण खड्काले उदयपुरबाट चौथो पटक संसदको यात्रा प्रारम्भ गरेका छन् । ०६४ को पहिलो संविधानसभादेखि भर्खरै सम्पन्न मंसिर ४ को चुनावसम्ममा लगातार चौथो पटक उनी विजयी भएका हुन् । ०५६ सालमा पहिलो पटक चुनावी मैदानमा उत्रिदा भने खड्का पराजय भोग्न पुगेका थिए । 

मंगलबार राति १०ः३० बजे सार्वजनिक अन्तिम परिणाम अनुसार परराष्ट्रमन्त्रीसमेत रहेका खड्काले नेकपा (एमाले) की पोलिटव्युरो सदस्य मञ्जुकुमारी चौधरीलाई २ हजार ३ सय ७९ मतको फरकले विजयी भएका हुन् । 


खड्काले ३१ हजार २ सय ७० मत प्राप्त गरे भने चौधरीले २८ हजार ८ सय ९१ मत पाईन् । प्रतिनिधिसभाको मतपेटिकामा प्रदेशसभाको १ सय थान मतपत्र भेटिएपछि आईतबार विहान १०ः०० बजेदेखि स्थगित गणना कार्य मंगलबार विहानदेखि मात्र सुचारु भएर भर्खर अन्तिम परिणाम सार्वजनिक भएको हो । 


चुनावी मैदानमा रहेका अन्य उममेदवारहरु राप्रपा, नेस्वपा र जसपाबाहेक कसैले ५ सय मत कटाउन सकेका  छ्रैनन् । राप्रपाका घु्रव रायमाझीले ३ हजार ९ सय १५ मत पाउँदा नेपाल स्वतन्त्र पार्टीका उद्धव घिमिरेले ३ हजार ४ सय ४४ र जसपाका गोपाल राईले १ हजार ९ सय ६ मत पाएका छन् । यो चुनावमा बिभिन्न दल र स्वतन्त्र गरी १६ जना उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए । 


गणना भएको ७६ हजार ४ सय ५१ मतमध्ये ४ हजार ९ सय ९६ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 


खड्कासँग ०६४ र ०७० को संविधानसभा चुनावमा पराजित नेकपा (माओबादी केन्द्र) का राजन किराती (बासु) भने यसपटकको चुनावमा गठबन्धनबाट प्रदेश १ (क) मा विजयी भएका छन् ।