उदयपुर १ (ख) मा हिमाल कार्की विजयी

२0७९ मंसिर ९ शुक्रबार
उदयपुर १ (ख) मा हिमाल कार्की विजयी

उदयपुर, मंसिर ९

उदयपुर १ (ख) मा पनि गठबन्धनकै जित भएको छ । नेपाली काँग्रेसका हिमाल कार्कीले एमालेका इश्वरमणि राउतभन्दा २ सय १५ मत बढी ल्याएर प्रदेशसभा सदस्यको यात्रा दोहो¥याएका छन् । 


शुक्रबार साँझ ६ः१० बजेको परिणाम अनुसार कार्कीले १४ हजार ९ सय ७९ मत ल्याएर विजयी हुँदा एमालेका राउतलाई १४ हजार ७ सय ६४ मत परेको छ । त्रियुगा नगरपालिका मात्र रहेको यो क्षेत्रमा ६३ हजार ४ सय ८१ मतदाता रहेकोमा ३७ हजार २ सय ६७ मत खसेको थियो । जसमध्ये १ हजार ४ सय ५३ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 


सत्तारुढ दलीय गठबन्धन भएकाले भारी मतान्तरले जिन्ते अपेक्षा गरिए पनि कार्की झिनो मतान्तरले जिनेका छन् । यसो हुनुमा पार्टीभित्र अन्तरघात भएको अनुमान गरिएको छ । गत सोमबार मध्यान्हदेखि सुरु भएको मतगणनामा सुरुदेखि नै कार्कीले अग्रता लिदै आएका थिए । तर, नतिजाको अन्तिमतिर मतान्तर घट्दै २ सय १५ मा सीमित हुन पुग्यो । अन्तरघात गरेको ठहर गर्दै पार्टी जिल्ला सभापतिसमेत रहेका कार्कीले अघिल्लो साँझ नै १२ जना नेता कार्यकर्तालाई कारबाहीसमेत गरेका छन् ।


यो नतिजा आएसँगै उदयपुरको दुवै निर्वाचन क्षेत्रका प्रदेशसभातर्फ ४ वटै सीट गठबन्धले जितेको छ । १ क) मा यसअघि नै माओबादीका राजन किराती (बासु) विजयी भईसकेका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का कुशलबाबु बस्नेतभन्दा २ हजार २ सय ४३ मतको फराकिलो अन्तरले किराती प्रदेशसभाको यात्रामा निस्केका छन् । 


उनले १५ हजार ९२ मत पाउादा बस्नेतले १३ हजार ४९ मत पाएका छन् । ३८ हजार ८ सय ५७ मत खसेको क) मा सुरुवाती चरणदेखि किरातीको अग्रता कायम थियो। १ हजार ८ सय ७५ मत बदर भएको छ। २ (क) र (ख) मा क्रमशः माओबादीका नारायण बुर्जामगर र काँग्रेसका रामकुमार खत्री विजयी भएका छन् । 


प्रतिनिधिसभातर्फ २ मा गठबन्धनका उम्मेदवार एकीकृत समाजबादीका जगन्नाथ खतिवडालाई एमालेका अम्मर रायमाझीले पराजित गरेका छन् । १ नं. मा गठबन्धनकै उम्मेदवार काँग्रेस केन्द्रीय सदस्य डा. नारायण खड्का झण्डै २ हजार मतान्तरले अगाडि छन् । 


दिउँसो ४ः४० सम्मको परिणाम अनुसार खड्काले १८ हजार ७ सय ७७ मत पाउँदा चौधरीले १६ हजार ८ सय ६१ मत पाईरहेकी छिन् । उनीहरुबीच १ हजार ९ सय १६ मतको फरक छ । 


७६ हजार ५ सय ७६ मत खसेको १ नं. मा हालसम्म ४५ हजार ४७ मत गणना भईसकेको छ । जसमा २ हजार ८ सय ७० मत बदर भएको छ । प्रतिनिधिसभातर्फको मत परिणाम पाउन शनिबार रातिसम्म कुर्नुपर्ने गणनामा खटिएका कर्मचारीहरुको अनुमान छ ।