उदयपुर १ (क) मा माओबादीका राजन किराती विजयी

२0७९ मंसिर ९ शुक्रबार
उदयपुर १ (क) मा माओबादीका राजन किराती विजयी

उदयपुर, मंसिर ९

उदयपुर निर्वाचन क्षेत्र नं. १ (क) को मत गणना सकिएको छ । आधिकारिक घोषणा हुन बाँकी भए पनि नेकपा (माओबादी केन्द्र)का राजन किराती (बासु) नेकपा (एमाले) भन्दा १ हजार २ सय ४३ मत बढी ल्याएर विजयी भएका छन् । 


विहान १०ः२५ बजे सकिएको गणना अनुसार गठबन्धनका उम्मेदवार किरातीलाई १५ हजार ९२ मत परेको छ भने एमालेका कुशलबाबु बस्नेतले १३ हजार ८ सय ४९ मत पाएको जिल्ला निर्वाचन अधिकारी खेमराज कोईरालाले बताए । 


३८ हजार ८ सय ५७ मत खसेको क) मा तेस्रो मत राप्रपाका सुभाषचन्द्र खड्काले पाएका छन् । उनले २ हजार ६ सय ६९ मत पर्दा २ हजार ३ सय ८९ मत जसपाका गणेश राईले पाएका छन् । काँग्रेसका बागी उम्मेदवार जयप्रसाद सुबेदीले ८ सय ३९ मत पाएका छन् भने स्वतन्त्रका कुमार खड्काले ५ सय ७० मत ल्याएका छ्न । 


त्यसैगरी मंगोल नेश्नल अर्गनाईजेसनका भूमिराज राईले ५ सय ८२ मत पाउँदा अर्का स्वतन्त्र उम्मेदवार सुरेश ढकालले ४ सय २१ मत ल्याएका छ्न । अन्य उम्मेदवारहरु कल्पना सापकोटाले २ सय ९३, दिनेश राईले २ सय १९ र गणेश थापाले ४९ मत पाएका छन् । १ हजार ८ सय ७५ मत बदर भएको छ ।


गत ०६४ मा सम्पन्न पहिलो संविधानसभा चुनावमा २ र ३ ंनं. मा माओबादीका मणि खम्बु र मोहन खत्रीले जित्दा पराजय भोग्न बाध्य भएका किराती ०७० को दोस्रो संविधानसभा चुनावमा पनि हार बेहोरेका थिए । 


दुवै चुनाव नेपाली काँग्रेसका डा. नारायण खड्कासँग पराजित किराती यसपटक सत्तारुढ दलीय गठबन्धनमा प्रदेशसभामा टिकट लिएर उनै खड्कासँग सहयात्री भएर भोट माग्न निस्के । यो तेस्रो प्रयास सफल भएर उनले प्रदेशसभाको राजनीतिक यात्रा सुरु गरेका छन् ।