म्यादी प्रहरीलाई बिदा दिइयो 

२0७९ मंसिर ८ बिहीबार
म्यादी प्रहरीलाई बिदा दिइयो 

उदयपुर, मंसिर ८

यही मंसिर ४ गतेको चुनावका लागि भर्ना भएका म्यादी प्रहरीले देशैभर आज विदा लिएका छन् । सोही क्रममा उदयपुरमा पनि म्यादीलाई बिदाई गरिएको छ । 


निर्वाचन परिणाम नआईसकि नै म्यादी प्रहरीलाई बिदा दिइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । प्रहरी परिसर बोक्सेमा आयोजित एक कार्यक्रममा उनीहरुलाई प्रमाणपत्र प्रदान गरेर बिदाई दिइयो । 


चुनाव सम्पन्न गर्नका लागि गत असोज ३० गतेदेखि म्यादी प्रहरी भर्ना गरेर  खटाइएको थियो । काममा खटाएको ४० दिनको अवधि पुरा भएकाले उनीहरुलाई बिदा दिइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी राकेश पोदारले बताए । उनका अनुसार उदयपुरमा १ हजार १ सय ६७ म्यादी परिचालन गरिएको थियो । 


बिदाई कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, प्रहरी प्रमुख प्रमुख एसपी ज्ञानेन्द्र फुयाल र नेपाली सेनाका गणपति विजय भण्डारीलगायतले म्यादी प्रहरीलाई प्रमाणपत्र प्रदान गर्दै भावी दिन सफलताको कामना गरे । प्रजिअ गौतम र एसपी फुयालले उदयपुरम शान्तिपूर्ण रुपमा मतदान गराउन र मतपत्र गणना केन्द्रसम्म ल्याउन सहयोग गरेकोमा धन्यबाद दिएका थिए ।