खोटाङमा संघ र प्रदेश ख) मा गठबन्धनको जित, क) मा एमाले 

२0७९ मंसिर ८ बिहीबार
खोटाङमा संघ र प्रदेश ख) मा गठबन्धनको जित, क) मा एमाले 

उदयपुर, मंसिर ८

खोटाङमा प्रतिनिधिसभा र प्रदेश ख) मा गठबन्धनको जित भएको छ । भर्खरै घोषित परिणाम प्रतिनिधिसभामा नेकपा (माओबादी केन्द्र) का रामकुमार राई (पासाङ) विजयी भएका छन् । 


माओबादीका पोलिटव्युरो सदस्यसमेत रहेका पासाङ एमालेका विशाल भट्टराईभन्दा २ हजार ६ सय ६९ बढी मत ल्याएर विजयी भएका हुन् । राईले ३१ हजार ३ सय ५१ मत पाएका छन् भने एमालेका पोलिटव्युरो सदस्य भट्टराईले २८ हजार ६ सय ८२ मत पाएका छन् । 


प्रदेश १ का बहालवाला खानेपानी, सिंचाई तथा उर्जामन्त्रीसमेत रहेका राई ०६४ को संविधानसभा सदस्यसमेत जितेका थिए । ०७४ को चुनावमा एमाले र माओबादीबीच भएको गठबन्धनमा प्रदेशसभा सदस्य जितेपछि उनी मन्त्री भएका हुन् । यो उनको चुनावी ‘ह्याट्रिक’ हो भने प्रदेशतर्फ १ पटक र प्रतिनिधिसभातर्फ दोस्रो पटकको राजनीतिक यात्रा हो । 


०७० को संविधानसभा र ०७४ को प्रतिनिधिसभा सदस्य विजेता भट्टराई खोटाङमा २ वटा निर्वाचन क्षेत्र हुँदा ०७० को संविधानसभामा २ न. क्षेत्रबाट र ०७४ मा बाम गठबन्धन हुँदा प्रतिनिधिसभामा जितेका हुन् । ओलीनिकट उनी पहिले संसदीय दलको सचेतक र एमाले बिभाजन भएर एकीकृत समाजबादी गठन भएपछि प्रमुख सचेतक भएका थिए । 


प्रदेशसभातर्फ क) मा एमालेका पाँचकर्ण राई (पिके) ले एकीकृत समाजबादीका वीरबलकाजी राईलाई पराजित गरेका छन् । गठबन्धनतर्फबाट उठेका वीरबलकाजीलाई २ हजार १ सय ९२ मतान्तरले पराजित गरेका राईले १३ हजार १ सय ५७ मत पाएका छन् । वीरबलकाजीले ११ हजार ९ सय ६५ मत पाएका छन् । पिके पनि ०७० को निर्वाचनमा खोटाङ १ बाट संविधानसभा सदस्य निर्वाचित हुन् । 


उता प्रदेश ख) तर्फ गठबन्धनकै भूपेन्द्र राई विजयी भएका छन् । नेपाली काँग्रेस प्रदेश समिति महामन्त्रीसमेत रहेका राई एमालेका राम दंगालभन्दा २ हजार १ सय ४० बढी मतले विजयी भएका हुन् । उनले १६ हजार ४ सय ९६ मत प्राप्त गरेका छन् भने एमालेका दंगालले १४ हजार ३ सय ५६ मत पाएका छन् ।