उदयपुर २ मा एमालेका अम्मर रायमाझी विजयी

२0७९ मंसिर ६ मंगलवार
उदयपुर २ मा एमालेका अम्मर रायमाझी विजयी

उदयपुर, मंसिर ६

उदयपुर क्षेत्र नं. २ मा एमालेका उम्मेदवार अम्मर रायमाझी विजयी भएका छन् । मंगलबार ८ः०० बजे सार्वजनिक नतिजा अनुसार रायमाझी १५ हजार २ सय ५१ मत ल्याउँदै जिजयी भएका हुन् । 


उनका निकटतम प्रतिद्वन्द्व एकीकृत समाजबादीका जगन्नाथ खतिवडाले १२ हजार ८ सय ९३ मत पाएका छन् । गठबन्धनका उम्मेदवार खतिवडाभन्दा रायमाझीले २ हजार ३ सय ५८ मत बढी ल्याएका छन् । 


नेपाली काँग्रेसबाट बागी उम्मेदवार बनेका रामकुमार राईले तेस्रो स्थान ल्याएका छन् । उनले १० हजार ३ सय ७९ मत प्राप्त गरे । काँग्रेस क्षेत्रीय सभापति राईको सुरु चरणमा चुनावी माहौल राम्रो भएको देखिएपछि धेरैले उनी जित्ने आँकलन गरेका थिए ।  


यो चुनावमा पहिलो पटक भाग लिएको मंगोल नेश्नल अर्गनाईजेसनले १ हजार ४ सय ३० मत लिएको छ । घण्टी चिन्हको स्वतन्त्र पार्टीले ९ सय १० मत पाएको छ भने राप्रपाले ४ सय ८१ मत । जसपालाई ३ सय ६७ मत परेको छ भने २ हजार ७ सय १२ मत बदर भएको छ । 


४४ हजार ८ सय ७५ मत खसेको उदयपुर २ मा सोमबार दिउसोदेखि गणना सुरु भएर २६ घण्टामा परिणाम सार्वजनिक भएको सहायक निर्वाचन अधिकृत देवराज भट्टराईले बताए । 


प्रतिनिधिसभाको गणना सकिएपछि प्रदेशसभा र समानुपातिकतर्फको गणना प्रारम्भ गर्ने तयारी भईरहेको छ । प्रदेशसभातर्फ क) मा गठबन्धनबाट माओबादीका नारायण बुर्जामगर र एमालेबाट देवराज राई उम्मेदवार छन् भने ख) मा काँग्रेसका रामकुमार राई र एमालेका जिवनाथ दाहाल प्रतिस्पर्धामा छन् ।