उदयपुर २ मा एमाले विजयीनिकट, १ मा गठबन्धनको अगता 

२0७९ मंसिर ६ मंगलवार
उदयपुर २ मा एमाले विजयीनिकट, १ मा गठबन्धनको अगता 

उदयपुर, मंसिर ६

उदयपुर क्षेत्र नं. २ को मत परिणाम आज राति नै आउने संभावना बढेको छ । प्रतिनिधिसभातर्फ अहिलेसम्मको नतिजा अनुसार एमालेका अम्मर रायमाझीको जित लगभग सुनिश्चित देखिएको छ । 


दिउसो ४ः३० बजेसम्मको परिणाम अनुसार रायमाझीले १३ हजार ४ सय ४ मत पाएर अग्रता लिइरहेका छन् । निकटतम प्रतिद्वन्द्व एकीकृत समाजबादीका जगन्नाथ खतिवडाले ११ हजार ५ सय ३९ मत पाएर पछ्याईरहेका छन् । नेपाली काँग्रेसबाट बागी दिएका रामकुमार राई तेस्रो स्थानमा छन् । उनले अहिलेसम्म ९ हजार ३ सय ३० मत पाएका छन् । 


४४ हजार ८ सय ७५ मत खसेको २ न. क्षेत्रमा अव ५ हजार १ सय १७ मत मात्र गन्न बाँकी छ । ३९ हजार ७ सय ५८ मत गणना गर्दा २ हजार ४ सय २७ मत बदर भएको छ । 


२ नं. क्षेत्रको प्रदेशसभा र समानुपातिकतर्फको मत गणना भने बाँकी छ । प्रतिनिधिसभाको गणना सकेपछि मात्र प्रदेश र समानुपातिक मत गन्ने सर्वदलीय निर्णय भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 


यता १ नं. निर्वाचन क्षेत्रमा भने गठबन्धनले अग्रता लिइरहेको छ । सुरुदेखि अग्रता लिएका नेपाली काँग्रेसका डा. नारायण खड्का अहिले पनि २ सय ८४ मतले एमालेभन्दा अगाडि छन् । खड्काले ३ हजार ४ सय ७५ मत पाउँदा एमालेकी मञ्जुकुमारी चौधरीको ३ हजार १ सय ९१ मत आएको छ । 


७६ हजार १ सय २ मत खसेको १ नं. मा हालसम्म ८ हजार ९ सय ९३ मत गणना भएको छ । प्रदेशतर्फ क) र ख) दुवैमा हालसम्म गठबन्धनकै अग्रता छ । क) मा माओबादीका राजन किराती (बासु) ले ३ हजार ३ सय ४६ मत पाएका छन् । एमालेका कुशलबाबु बस्नेतको ३ हजार ४६ मत आएको छ ।