उदयपुर १ मा गठबन्धन, २ मा एमालेको अग्रता

२0७९ मंसिर ६ मंगलवार
उदयपुर १ मा गठबन्धन, २ मा एमालेको अग्रता

उदयपुर, मंसिर ६


उदयपुर १ मा प्रतिनिधिति र प्रदेशसभा दुवैमा गठबन्धनका उम्मेदवारहरु अघि देखिएका छन् । प्रतिनिधिसभातर्फ काँग्रेस केन्द्रीय सदस्य डा. नारायण खड्का र प्रदेशतर्फ राजन किराती र हिमाल कार्कीको अग्रता कायमै छ । 


प्रतिनिधिसभामा गठबन्धनका खड्कालाई एमालेकी पोलिटव्युरो सदस्य मञ्जुकुमारी चौधरीले. पछ्याईरहेकी छिन् भने प्रदेशतर्फ कुलबाबु बस्नेत र इश्वरमणि राउतले पछ्याईरहेका छन् । मंगलबार विहान ११ बजेसम्मको गणनामा डा. खड्कालाई २ हजार ५ सय ३४ मत परेको छ भने चौधरीलाई २ हजार २ सय ९० मत प्राप्त भएको छ । 


मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक अधिकृत धनबहादुर कार्कीका अनुसार ५ हजार ९ सय ४३ मत गनिसक्दाको परिणाम अनुसार राप्रपाका धु्रब रायमाझीलाई २ सय ३४ पाएका छन् । स्वतन्त्र उम्मेदवार उद्धव अधिकारीलाई १ सय ९७ र जसपाका गोपाल राईलाई १ सय ८८ मत परेको छ भने ३ सय ८८ मत बदर भएको छ । 


प्रदेशतर्फ (क) मा गठबन्धनका उम्मेदवार किरातीले २ हजार २ सय ५२ मत पाईरहेका छन् । एमालेका कुशलबाबु बस्नेतलाई २ हजार २ सय ३ मत पर्दा जसपाका गणेश राईले ३ सय ७३, स्वतन्त्रका सुभाषचन्द्र खड्काले ३ सय ४६ मत पाएका छन् । काँग्रेसका बागी उम्मेदवार जयप्रसाद सुबेदीले १ सय २५ मत पाउँदा मंगोल नेशनलका भूमिराज राईले १ सय ३ मत ल्याएका छन् । 


प्रदेश (ख) तर्फ गठबन्धनका उम्मेदवार हिमाल कार्कीले २ हजार ९ सय २२ मत पाएर अग्रता लिएका छन् । उनलाई एमालेका इश्वरमणि राउतले २ हजार ३ सय ४९ मत पाएर पछ्याईरहेका छन् । राप्रपाका ज्ञानबहादुर राईले ४ सय ४४, रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ति पार्टीको (ढकिया) ले २ सय १३ र जसपाका विश्वराज राईले ८९ मत पाईरहेको सहायक अधिृकत कार्कीले बताए । 


उता २ नं. क्षेत्रमा एमालेका अम्मर रायमाझीको ८ हजार ७ सय १५ मत पाएर अग्रता लिएका छन् । गठबन्धनका जगन्नाथ खतिवडाले ७ हजार ५ सय २१ मत लिएर पछ्याईरहेका छन् भने स्वतन्त्र उम्मेदवार काँग्रेसका बागी रामकुमार राई ५ हजार ५ सय ६४ मत पाएर तेस्रो स्थानमा छन् । 


२५ हजार २ सय ८१ मत खसेको सो क्षेत्रमा मंगोल नेश्नल अर्गनाईजेसनले ७ सय ५१, स्वतन्त्र पार्टीले ५ सय १३ र राप्रपाले २ सय ५९ मत पाईरहेको सहायक निर्वाचन अधिकृत देवराज भट्टराईले बताए । उनका अनुसार १ हजार ४ सय ९२ मत बदर भएको छ । २ नं. क्षेत्रको प्रदेशतर्फको मत गणना भने हुन बाँकी छ । प्रतिनिधिसभाको सकेपछि मात्र प्रदेशतर्फको गणना गर्ने सर्वदलीय निर्णय भएको भट्टराईले बताएका छन् ।