सोरुङमा शान्तिपूर्ण मतदान

२0७९ मंसिर ४ आईतवार
सोरुङमा शान्तिपूर्ण मतदान

उदयपुर, मंसिर ४

गत स्थानीयतह चुनावमा गोली चलेर मान्छेको ज्यान गएको सोरुङछबिसे मतदान केन्द्रमा यसपटक शान्तिपूर्ण मतदान भएको छ । गएको वैशाख ३० गते सम्पन्न स्थानीयतह चुनावमा सुरक्षाकर्मीको गोली लागेर स्थानीय १८ वर्षी वीरबहादुर कटुवालको ज्यान गएको सो केन्द्रमा यसपटक शान्तिपूर्ण रुपमा चुनाव सम्पन्न भएको प्रशासनले जनाएको छ । 


आईतबार सम्पन्नउ प्रतिनिधि तथा प्रदेशसभा चुनाव विहानदेखि साँझसम्म शान्तिपूर्ण भएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए । सिडिओ गौतमका अनुसार सोरुङसँगै जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण मतदान सम्पन्न भएको छ । 


सोरुङछबिसेमा यसपटक १ हजार २६ मत खसेको छ । २ नं. निर्वाचनक्षेत्रको चुनावी सुरक्षाको जिम्मा पाएका इलाका प्रहरी कार्यालय कटारीका डिएसपी रविन कार्कीले सोरुङमा शान्तिपूर्ण रुपमा चुनाव सम्पन्न भएको र २ हजार १ सय १६ मतदाता रहेकोमा १ हजार २६ मत खसेको बताए । 


यो हिस्सा कुल मतदाताको ४८.४८ प्रतिशत हो । गत स्थानीयतह चुनावमा सो केन्द्रमा १ हजार ४ सय ६८ मत अर्थात ६९.३७ प्रतिशत मत खसेको डिएसपी कार्कीले बताए । 


उदयपुरमा यस पटकको चुनावमा ५३.६ प्रतिशत मत खसेको छ । कुन स्थानीयतहमा कति प्रतिशत खस्यो भन्ने बारे पूर्ण बिबरण आउन भने केही समय लाग्ने छ । प्राप्त बिबरण अनुसार सदरमुकाम त्रियुगा नगरपालिकामा ५८.६५ प्रतिशत मत खसेको छ भने कटारीमा ५४.८९ प्रतिशत खसेको छ । 


६३ हजार ४ सय ८१ मतदाता रहेको त्रियुगामा ३७ हजार ९ सय २१ मत खसेको छ । त्यस्तै ४० हजार १ सय १५ मतदाता रहेको कटारी नगरपालिकामा २२ हजार २० मत खसेको छ । 


मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक अधिकृत धनबहादुर कार्कीले खसेको मतको सबै बिबरण आउन केही समय लाग्ने बताए । नजिकका मतदान केन्द्रको बिबरण र मतपेटिकाहरु आउन थालेको तर, टाढा र फोन नलाग्ने ठाउँका केन्द्रको बिबरण र मतपेटिका आउन समय लाग्ने सहायक अधिकृत कार्कीले बताएका छन् ।