त्रियुगा नगरको बजेट १ खर्व २३ करोड

२0७९ मंसिर १ बिहीबार
त्रियुगा नगरको बजेट १ खर्व २३ करोड

उदयपुर, कात्तिक २९

त्रियुगा नगरपालिकाले चालु आर्थिकवर्ष २०७९÷०८० को बजेट पुस्तिका सार्वजनिक गरेको छ । सोमबार नगरपालिकाकै सभाकक्षमा पत्रकार सम्मेलनको आयोजना गरी आवधिक गतिबिधिको ‘सार्वजनिक सुनुवाई’सँगै बजेट पुस्तिका सार्वजनिक गरेको हो । 

 


कार्यक्रममा नगरप्रमुख बसन्त बस्नेत, उपप्रमुख महेश्वरी राई र प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वनले संयुक्त रुपमा बजेट पुस्तिका सार्वजनिक गरे । सार्वजनिक पुस्तिकामा चालु वर्ष त्रियुगाले गर्ने नीति तथा कार्यक्रम, वार्षिक बजेट, योजनाहरुको बिबरण समेटिएको छ । 


चालु वर्ष नगरपालिकामा १ अर्ब २३ करोड ५३ लाख ३० हजार ४ सय ४० रुपैंयाको आम्दानी तथा खर्च हुने पुस्तिकामा उल्लेख छ । नगरपालिकाले गतवर्षभन्दा चालु वर्ष १० करोड २० लाख २७ हजार २ सय ९५ रुपैंया बढीको बजेट बनाएको छ । गतवर्ष त्रियुगाको बजेट १ अर्ब १३ करोड ३३ लाख ३ हजार १ सय ४५ रुपैंया थियो । 


कार्यक्रमबारे जानकारी गराउँदै मेयर बस्नेतले गतवर्षभन्दा चालु वर्ष आन्तरिक र बाह्य दुवै स्रोत बढ्ने अनुमान अनुसार बजेट बनाइएको बताए । उनका अनुसार चालु वर्ष गतवर्षभन्दा संघीय सरकार र प्रदेश सरकारले दिने बित्तीय समानीकरण, सशर्त, समपूरक र विशेष अनुदान सबै बढेर आएकाले बजेटको आकार बढेको हो । त्यसैगरी आन्तरिक स्रोततर्फ पनि आमदानी बढ्ने अनुमान वार्षिक नीति कार्यक्रमले गरेको छ ।


गतवर्ष संघीय सरकारले बित्तीय समानीकरण शीर्षकमा २२ करोड २५ लाख दिएकोमा चालु यसवर्ष २३ करोड ४८ लाख दिएको छ । जस अनुसार गतवर्षभन्दा १ करोड २३ लाख बढी यो वर्ष आउने भएको छ । त्यस्तै सशर्ततर्फ गतवर्ष ५३ करोड ५९ लाख दिएको संघीय सरकारले यसवर्ष ५७ करोड २४ लाख दिने भएको छ । यसरी सशर्ततर्फ पनि गतवर्षभन्दा ३ करोड ६५ लाख बढी आउने बस्नेतले बताए । 


त्यसैगरी गतवर्ष समपूरक अनुदान १ करोड १० लाख तथा विशेष अनुदान १७ लाख ७९ हजार ७ सय ५० आएकोमा यसवर्ष समपूरक अनुदान १ करोड ८४ लाख आउँदा विशेष अनुदान ३ करोड ४९ लाख आएको छ । यसरी संघीय सरकारबाट चालुवर्ष ८६ करोड ५ लाख आउने छ भने गतवर्ष ७७ करोड १२ लाख ४९ हजार ७ सय ५० मात्र आएको मेयर बस्नेतले बताए । 


उता प्रदेश सरकारबाट भने गतवर्षको दाँजोमा बजेट घटेर आएको छ । गतवर्ष प्रदेशले बित्तीय समानीकरण, सशर्त र समपूरक गरी ६ करोड २४ लाख पठाएको थियो । तर, चालु वर्ष सो आकार घटेर ३ करोड ३४ लाख ६६ हजारमा सीमित भएको छ । 


प्रमुख प्रशासकीय अधिकृत वनले गएको वर्षभन्दा यो वर्ष संघबाट बजेट थपिएर आएको तथा आन्दरिक आमदानी पनि बढ्ने अनुमानका आधारमा बजेटको आकार बढाइएको बताए । उनका अनुसार संघ र प्रदेशबाट प्राप्त हुने अनुदान रकमबाहेक त्रियुगाले आन्तरिक स्रोत र राजश्व बाँडफाँडलाई आमदानीको मुख्य स्रोत बनाएको छ । वनले राजश्व बाँडफाँड र प्रदेश सवारी साधन करलाई आन्तरिक आयको मुख्य स्रोत अनुमान गरेको बताए । 


जस अनुसार राजश्व बाँडफाँडतर्फ मूल्य अभिबृद्धि कर (भ्याट) र अन्तःशूल्कबाट १९ करोड ८५ लाख आय हुने अनुमान गरेको हाकिम वनले बताए । त्यसैगरी प्रदेश सवारी साधन करबाट १ करोड ७२ लाख ७९ हजार ४ सय ४० रुपैंया आमदानी हुने अनुमान नगरपालिकाले गरेको उनको भनाई छ । 


१२ करोड ८५ लाख आन्तरिक आमदानी गर्ने प्रक्षेपण गरेको नगरपालिकाले बिभिन्न २० वटा शीर्षकलाई मुख्य आमदानीको स्रोत मानेको छ । जसमा सबभन्दा बढी आमदानी ‘अन्य राजश्व’ शीर्षकलाई मानेको छ । यो शीर्षकबाट नगरपालिकाले ५ करोड ५० लाख आय गर्ने अनुमान गरेको हाकिम वनले बताए । त्यस्तै सिफारिस दस्तुरवापत १ करोड २० लाख आमदानीको अपेक्षा गरेको छ । नगरपालिकाले अन्य राजश्व शीर्षकमा गतवर्ष पनि सोही अंक संशोधित अनुमानमा राखेको थियो । सिफरिस दस्तुरवापत भने नगरपालिकाले चालुवर्षभन्दा २० लाख कम अर्थात १ करोड मात्र अनुमान गरेको थियो । 


चालुवर्ष कार्यालय सञ्चालन खर्चमा ३०.१८ प्रतिशत हिस्सा अर्थात १९ करोड ३० लाख छु्ट्याइएको हाकिम वनले बताए । बाँकी ७९.८२ प्रतिशत अर्थात ४४ करोड ६४ लाख २३ हजार ४ सय ४० रुपैंया विकासतर्फ बिनियोजन गरिएको उनले बताए ।