उदयपुरका ६२ कैदीबन्दीलाई मताधिकार

२0७९ कार्तिक २४ बिहीबार
उदयपुरका ६२ कैदीबन्दीलाई मताधिकार

उदयपुर, कात्तिक २४

आगामी प्रदेश तथा प्रतिनिधिसभा चुनावमा उदयपुरका ६२ जना कैदीबन्दीेलाई मताधिकार प्राप्त हुनेछ । बिभिन्न आपराधिक मुद्धामा दोषी करार भएर जिल्ला कारागारमा सजाय भु्रक्तान गरिरहेका ६२ जना कैदीबन्दीले भोट दिन पाउने भएका हुन् । 


९ जना महिलासहित जम्मा २ सय ३० जना कैदीबन्दीमध्ये मतदाता नामावलीमा नाम दर्ता रहेका ६२ जनाले भोट दिन पाउने कारागार कार्यालय प्रमुख (जेलर) डिगम कार्कीले बताए । कार्कीका अनुसार कैदीबन्दीले प्रत्यक्षतर्फ भने मत हाल्न पाउनेछैनन् । उनीहरुले समानुपातिकतर्फ मात्र मत हाल्नेछन् । उनीहरुलाई मतदान गर्न कारागार परिसरमै मतदान केन्द्र निर्माण गरिनेछ । 


प्रतिनिधिसभा तथा प्रदेशसभामा समानुपातिक मतदान गर्न पाउने अधिकार कैदीबन्दीसँगै चुनावमा खटने कर्मचारी र सुरक्षाकर्मीलाई पनि दिइएको छ । मतदान केन्द्रमा खट्ने अधिकृत, सहायक अधिकृत, सहायक कर्मचारी, कार्यालय सहयोगीदेखि सुरक्षातर्फ सेना, प्रहरी र म्यादीलाईसमेत यो अधिकारको प्रयोग गर्न पाउँने मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत धनबहादुर कार्कीले बताए । 


जिल्लाका दुवै निर्वाचन क्षेत्रमा २ हजार १२ कर्मचारी खट्ने सबैले समानुपातिकमा मतदान गर्न पाउनेछन् । क्षेत्र नं. १ का १ सय ५३ मतदान केन्द्रमा १ हजार २ सय २४ र २ नं. मा १ सय ११ केन्द्रमा ८ सय ८८ जना कर्मचारी परिचालन हुने सबैले समानुपातिकमा भोट हाल्न पाउने कार्कीले बताए ।