मनमोहन विश्वविद्यालयमा इन्जिनियरिङ पढ्नेको घुँईचो

२0७९ कार्तिक २४ बिहीबार
मनमोहन विश्वविद्यालयमा इन्जिनियरिङ पढ्नेको घुँईचो

उदयपुर, कात्तिक २४

देशकै पहिलो ‘मनमोहन प्राविधिक विश्वविद्यालय’मा पढ्ने विद्यार्थीको आकर्षण बढेको छ । भर्खरै खुलेको विश्वविद्यालयमा ईन्जिनियिङ पढ्न चाहने विद्यार्थीको अत्याधिक घुईचो लागेको हो । प्रदेश १ सरकारले मोरङको बुढीगंगा गाउँपालिका ४ हात्तीमुढामा स्थापना गरेको देशकै पहिलो विश्वविद्यालयको दोस्रौ शैक्षिक सत्रमा भर्ना हुने ईन्जिनियरिङ विषयका विद्यार्थी अत्याधिक बढेको प्रशासनले जनाएको छ । 


दोस्रो शैक्षिक सत्रको भर्ना आवेदन खुल्ला भएपछि स्कुल अफ ईन्जिनियरिङतर्फ सिभिल र ईलेक्ट्रिक एण्ड ईलेक्ट्रिोनिक्स ईन्जिनिरिङ  विषयमा स्नातकतहमा पढने ५ सय बढी विद्यार्थीले आवेदन दर्ता गराइसकेको विश्वविद्यालयका डिन डा प्रचण्डमान प्रधानले बताए । 


डिन प्रधानका अनुसार भौतिक पूर्वाधार सम्पन्न कक्षा कोठा, कमप्युटरकृत पठनपाठन  र परीक्षा प्रणाली अनि गुणस्तरीय प्रयोगशाला र बिशिष्टकृत पाठ्यक्रम र महिला छात्राबास सहित आउन जान यातायातको समेत व्यवस्था भएकाले पहिलो शैक्षिक सत्रदेखि मनमोहनमा ईन्जिनियरिङ पढ्न चाहने विद्यार्थीको घुँईचो लागेको हो ।


ईन्जिनियरिङ संकायका विभागीय प्रमुख ईन्जिनियर नरेन्द्रकुमार डाँगीका अनुसार चालु शैक्षिक सत्रमा यही ३० कार्तिकसम्म नियमित र ९ मंंसिरसम्म बिलम्ब शूल्क बुझाएर विद्यार्थीले अनलाइनमार्फत भर्नाका लागि आवेदन दिन सक्नेछन् । २०७६ मा प्रदेश १ सरकारले संसदबाट कानुन बनाएर देशकै पहिलो मनमोहन प्राविधिक विश्वविद्यालय स्थापना गराएको हो । पाठ्यक्रम र भौतिक पूर्वाधार निर्माण गरी दक्ष जनशक्ति नियुक्त गरिसकेपछि गत वर्षदेखि मनमोहन प्राबिधिक विश्वविद्यालयले स्कुल अफ ईन्जिनियरिङतर्फ सिभिल र ईलेक्ट्रिक एण्ड ईलेक्ट्रिोनिक्स ईन्जिनिरिङ विषयमा स्नातकतहको पढाई सुरु गरेको हो । 


मुलुकको सर्वाङ्गीण विकासका लागि आवश्यक पर्ने उच्चस्तरीय प्राविधिक जनशक्ति उत्पादन गर्ने, बहुप्राविधिक विश्वविद्यालयको अवधारणा अनुरुप प्रतिस्पर्धात्मक, गुणस्तरयुक्त, उपलब्धिमूलक र अन्तर्राष्ट्रिय विकास क्रमसँग आबद्ध गर्न सक्ने मानव संशाधन विकास गर्ने यो विश्विद्यालयको ध्येय छ । डिन प्रधानका अनुसार विज्ञान, प्रविधि तथा व्यवसायिक क्षेत्रको ज्ञान र सीपको सान्दर्भिक अनुसन्धानलाई व्यापक एवं व्यवहारिक र समयसापेक्ष बनाउने विश्वविद्यालयको लक्ष्य छ । 


विश्वविद्यालयमा स्कुल अफ इन्जिनियरिङ, स्कुल अफ एप्लाईड साइन्स एण्ड टेक्नोलोजी र स्कूल अफ मेडिसिन एण्ड एलाइड हेल्थ साइन्सेज सञ्चालन हुने प्रधानले बताएका छन् । फरक फरक ३ स्कूलअन्तर्गत १० वर्षमा स्नातक, स्नातकोत्तर र विद्यावारधी (पिएचडी) गरी २८ वटा विभिन्न विषयमा अध्ययन अध्यापन गर्ने नीति लिएको उनको भनाई छ । सबै कार्यक्रम सञ्चालन भएपछि मनमोहनमा हरेक वर्ष २ हजार ८ सय ३१ दक्ष प्राबिधिक उत्पादन गरेर मुलुकको समृद्धिमा लगाउने योजना विश्वविद्यालयले अघि सारेको छ ।